पर्सा पोस्ट, जेष्ठ १६ गते, कोलकाता (भारत) ।
सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल भारत च्याप्टरद्वारा आयोजित “स्मरण उदन्त मार्तण्ड एवं सम्मान समारोह” कार्यक्रममा नेपालका तीन जना पत्रकार अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्।
सम्मानित हुने पत्रकारहरूमा रौतहटका सञ्चारकर्मी तथा सी.एच. खबरका सञ्चालक चन्दन कुमार महतो, सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टर मधेश प्रदेशका अध्यक्ष सदाब मलिक तथा पर्सा (वीरगञ्ज) का पत्रकार शैलेश गुप्ता रहेका छन्। उनीहरूलाई पत्रकारिता क्षेत्रको विकास, सूचना प्रवाह तथा समाजप्रतिको योगदानको कदरस्वरूप सम्मान–पत्र र सम्मान चिह्न प्रदान गरिएको आयोजकले जनाएको छ।
भारतको कोलकातास्थित गर्ल्स कलेजमा आयोजित उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित सार्क क्षेत्रका विभिन्न मुलुकका पत्रकार, सञ्चारविद् तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा नेपालबाट १३ जना पत्रकार सहभागी भएका थिए भने समग्रमा करिब एक सय पत्रकारहरूको उपस्थिति रहेको बताइएको छ।
पत्रकारिताको व्यावसायिक विकास, प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रका चुनौती तथा दक्षिण एशियाली राष्ट्रहरूबीच पत्रकारितामार्फत सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिताले लोकतन्त्र सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न देशबाट आएका करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको समेत सहभागिता रहेको थियो। सम्मेलनले नेपाल–भारतसहित सार्क राष्ट्रहरूबीच सञ्चार सहकार्य, अनुभव आदान–प्रदान तथा पत्रकारिताको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
सम्मानित पत्रकारहरूले प्राप्त सम्मानले आफूहरूलाई अझ जिम्मेवार, सक्रिय र व्यावसायिक पत्रकारितातर्फ प्रेरित गरेको बताएका छन्। उनीहरूले पत्रकारिताको माध्यमबाट सत्य, निष्पक्ष र जनपक्षीय सूचना प्रवाहमा थप समर्पित भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उक्त सम्मानलाई नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय पहिचान र गौरवका रूपमा समेत हेरिएको छ।