अजित कुमार भुजेल ।
पर्सा पोस्ट, जेष्ठ १६ गते, रक्सौल (पूर्वी चम्पारण)
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया इन्चार्ज तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक एवं सामाजिक कार्यकर्ता बिमल सर्राफले मानव जीवन, मृत्यु र कर्मको सम्बन्धबारे गहन विचार व्यक्त गरेका छन्।
प्रेससँग कुराकानी गर्दै सर्राफले मृत्यु जन्मजत्तिकै शाश्वत सत्य भएको उल्लेख गर्दै पृथ्वीमा जन्म लिने हरेक जीवले एक दिन मृत्युको सामना गर्नै पर्ने बताए। उनका अनुसार मृत्यु केवल शरीरको अन्त्य हो, आत्माको होइन। आत्मा अमर रहने भएकाले मृत्युलाई पुरानो वस्त्र त्यागेर नयाँ वस्त्र धारण गरेजस्तै स्वाभाविक प्रक्रियाका रूपमा बुझ्नुपर्ने धारणा उनले व्यक्त गरे।
“यदि यस जीवनमा राम्रो वा नराम्रो कर्मको फल प्राप्त भएन भने त्यसको प्रभाव अर्को जीवनमा देखापर्छ,” उनले भने, “तर मानिसहरू प्रायः यो सत्यलाई गम्भीरतापूर्वक नलिई आफूलाई मृत्युबाट टाढा ठान्ने गल्ती गर्छन्।”
सर्राफले मृत्युको स्मरणले मानिसलाई जिम्मेवार, अनुशासित र सत्कर्मतर्फ उन्मुख बनाउने बताए। उनका अनुसार मृत्यु बिर्सिने प्रवृत्तिले अहंकार, लापरवाही र दुष्कर्मलाई बढावा दिन्छ। “मृत्युको कुनै निश्चित समय हुँदैन। यसले धनी–गरिब, ठूलो–सानो वा शक्तिशाली–निर्बलबीच कुनै भेदभाव गर्दैन,” उनले उल्लेख गरे।
उनले मानव जीवनलाई ब्रह्माण्डकै दुर्लभ अवसरका रूपमा चित्रण गर्दै मानिसमा रहेको शारीरिक तथा मानसिक क्षमताले समाज र मानवताको हितमा असाधारण योगदान दिन सक्ने बताए। “मानव जीवन केवल भोगविलासका लागि होइन, सत्कर्म, सेवा र प्रेरणादायी कार्यका लागि हो,” सर्राफले जोड दिए।
समाजमा मृत्युको चर्चा गर्नुलाई अशुभ मान्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले मृत्युप्रतिको चेतनाले नै जीवनलाई अर्थपूर्ण र अनुशासित बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार मृत्युको वास्तविकतालाई स्वीकार गरेर जीवनलाई सकारात्मक कर्म, नैतिकता र मानव सेवामा समर्पित गर्न सके मात्र मानव जन्म सार्थक हुन सक्छ।
सर्राफले अन्त्यमा प्रत्येक व्यक्तिले जीवनको क्षणभंगुरतालाई बुझेर मानवता, सेवा, सदाचार र परोपकारको मार्गमा अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए।