यस बर्षको कृष्ण सेन ‘ ईच्छुक ‘ स्मृति पत्रकारिता पुरस्कारबाट निरज पिठाकोटे र बलिराम यादव सम्मानित

Date:

अजित कुमार भुजेल , जेष्ठ १६ गते, वीरगञ्ज।
महान शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को २४औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ।

शनिबार वीरगञ्जस्थित होटल कन्टिनेन्टलमा आयोजित विशेष समारोहमा पत्रकार नीरज पिठाकोटे मगरलाई ‘कृष्ण सेन स्मृति सम्मान’ तथा पत्रकार बलिराम यादवलाई ‘प्रेस सेन्टर नेपाल क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। दुवै पत्रकारलाई जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो।

प्रेस सेन्टर नेपाल पर्साका केन्द्रीय सदस्य सन्तोष पौडेलको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा नीरज पिठाकोटे मगर र बलिराम यादवलाई पुरस्कारका लागि चयन गरेको थियो। समितिमा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव र सदस्य रितेश झा रहेका थिए।

करीब दुई दशकदेखि क्रान्तिकारी तथा जनपक्षीय पत्रकारितामा सक्रिय नीरज पिठाकोटे मगर हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकका मधेश प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्षको जिम्मेवारीमा कार्यरत छन्। पर्सामा क्रान्तिकारी पत्रकार संघ स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै जनपक्षीय पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो।

त्यसैगरी, राष्ट्रिय फन्डा अनलाइनका सञ्चालक तथा प्रेस सेन्टर नेपाल पर्साका सक्रिय सदस्य बलिराम यादवलाई संगठन निर्माण, संस्थागत सुदृढीकरण तथा जनपक्षीय पत्रकारितामा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कृत गरिएको प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भुजेलले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले सम्मानित पत्रकारहरूलाई नगद राशि, सम्मानपत्र, टीका, माला तथा दोसल्ला प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। उनले शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’ नेपाली पत्रकारिता क्षेत्रका प्रेरणादायी व्यक्तित्व रहेको उल्लेख गर्दै पुरस्कारका लागि योग्य र समर्पित पत्रकारहरूको छनोट भएको बताए।

उनले सत्य, निष्पक्ष तथा जनपक्षीय पत्रकारितालाई अझ सशक्त बनाउन पत्रकारहरूलाई आग्रह गर्दै कृष्ण सेनको हत्यामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरी न्याय सुनिश्चित गर्नुपर्ने माग दोहोर्‍याए।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चारकर्मी तथा सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष गोबिन्द  देवकोटाले शहीद पत्रकारहरूको त्याग र बलिदानबाट प्राप्त प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक उपलब्धिमाथि विभिन्न चुनौती थपिँदै गएको बताए। उनले सञ्चारमाध्यमहरूले भोगिरहेको आर्थिक संकट तथा विभिन्न दबाबहरूको सामना गर्न पत्रकारहरू संगठित भएर संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याए।

यसअघि २०८१ सालमा कृष्ण उदास खनाल र राम मण्डल तथा २०८२ सालमा गोविन्द देवकोटा र रितेश झा उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन्।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिता बराल, केन्द्रीय सदस्य सन्तोष पौडेल, मधेश प्रदेश अध्यक्ष श्याम बन्जरा, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारसम्बद्ध संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भुजेलले गरेका थिए।

प्रेस सेन्टर नेपाल पर्सा शाखाले सम्मानित पत्रकारहरूबाट आगामी दिनमा संगठनलाई थप सुदृढ, व्यवस्थित, सबल र सक्षम बनाउन सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बर्दिबासका पर्यटन व्यवसायी आक्रोशित : ‘ तथ्यहीन प्रचारले पर्यटन क्षेत्र बदनाम गरियो ‘

पर्सा पोस्ट, जेठ १६ गते, जनकपुर । महोत्तरीको बर्दिबासमा रहेका...

नेपालका तीन पत्रकार कोलकातामा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित

पर्सा पोस्ट, जेष्ठ १६ गते, कोलकाता (भारत) । सार्क जर्नलिस्ट...

आँखा बन्द भए पनि अरुको सन्सार उज्यालो पारे , मुत्युपछी पनि जिवित रहयो मानवता : दुई गरिबले पाए आँखा दुनियाँ दृस्टिको नयाँ उपहार

अजित कुमार भुजेल रक्सौल/वीरगञ्ज, जेष्ठ १६ गते। मृत्यु जीवनको अन्त्य हुन...

मृत्युलाई सम्झँदा जिवनको मूल्य बुझिन्छ : समाजसेवी बिमल सरार्फ

अजित कुमार भुजेल । पर्सा पोस्ट, जेष्ठ १६ गते, रक्सौल...