पर्सा पोस्ट, चैत २३ गते, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डिजिटल प्रविधियुक्त आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन सम्पन्न भएको छ। “स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक यस्तो अत्याधुनिक सुविधा सहितको संरचना निर्माण गरिएको हो।
सोमबार आयोजित विशेष कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठकको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको थियो। कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै प्रहरी उपरीक्षक पाठकले आधुनिक पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, सरसफाइ तथा कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले कार्यस्थलमै यस्तो सुविधा उपलब्ध हुनु सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण हुने बताए।उक्त भवन निर्माणमा सहयोग पुर्याउने रुङ्गटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरप्रति उनले विशेष आभार व्यक्त गरे। सामुदायिक सहकार्यको उदाहरणका रूपमा यस परियोजनालाई उनले महत्वपूर्ण उपलब्धि समेत बताए।
कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण अत्यन्त सराहनीय भएको उल्लेख गरे। उनले स्वच्छता र स्वास्थ्यबीचको प्रत्यक्ष सम्बन्धलाई जोड दिँदै यस्ता आधुनिक सुविधा कर्मचारीहरूको दैनिक जीवनलाई सहज र व्यवस्थित बनाउने बताए।
रुङ्गटा वेलफेयर सोसाइटीका प्रतिनिधिहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परियोजनामा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। कार्यक्रममा लायन्स क्लब आदर्शनगर, आमा नेपाल फाउन्डेसन, ट्राफिक प्रहरी तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
नव-निर्मित भवनले प्रहरी कर्मचारीहरूका लागि स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, यसले अन्य सरकारी निकायहरूलाई पनि आधुनिक र स्वास्थ्यमैत्री पूर्वाधार निर्माणतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।