पर्सा पोस्ट, चैत ११ गते, वीरगञ्ज ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–भिस्वास्थित श्री मंगल माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा आज छैटौँ दिनसम्म आइपुग्दा शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भइरहेको छ।
विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद कुर्मीको विशेष उपस्थितिमा सुरु गरिएको उक्त परीक्षा सुरुदेखि नै अनुशासित वातावरणमा सञ्चालन हुँदै आएको विद्यालय प्रशासनले जनाएको छ। परीक्षामा गाउँपालिकाभरिका कुल १९२ जना विद्यार्थी सहभागी भएका छन्।
विद्यालयका अनुसार हाल करिब १,२०० विद्यार्थी अध्ययनरत रहेका छन् भने २३ जना शिक्षक कार्यरत छन्। २००७ सालमा स्थापना भएको यस ऐतिहासिक शैक्षिक संस्थाले परीक्षा निष्पक्ष र विश्वसनीय बनाउन विशेष तयारीसहित व्यवस्थापन मिलाएको जनाएको छ।
परीक्षालाई थप प्रभावकारी र निष्पक्ष बनाउन छिपहरमाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयबाट शिक्षकहरू समेत खटाइएको छ। यसले परीक्षा व्यवस्थापनमा पारदर्शिता र विश्वसनीयता बढाएको स्थानीय अभिभावकहरूको भनाइ छ।
छिपहरमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख विशाल गुप्ताका अनुसार परीक्षा सञ्चालनमा कुनै अवरोध नआओस् भनेर आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। “हामीले अन्य विद्यालयका शिक्षकहरूको सहयोगमा परीक्षा प्रणालीलाई थप सुदृढ बनाएका छौँ,” उनले भने, “हालसम्म परीक्षा पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।”
स्थानीय तहको समन्वय, शिक्षकहरूको सक्रियता तथा विद्यालय प्रशासनको प्रतिबद्धताका कारण परीक्षा सफलतापूर्वक सञ्चालन भइरहेको भन्दै सरोकारवालाहरूले यसलाई उदाहरणीय अभ्यासको रूपमा लिएका छन्।