पर्सा पोस्ट | माघ ०६ गते | वीरगञ्ज
डि.ए.भी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज भएको प्रतियोगिताको पहिलो दिन दुई वटा अत्यन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।
आज सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै जीवन ज्योति स्कूललाई ५–२ गोलको अन्तरले पराजित गरेको छ। खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको साउथ जोन सेकेन्डरी स्कूलले खेलमा पूर्ण नियन्त्रण कायम राख्दै सहज जित हात पारेको हो। उक्त खेलमा साउथ जोन सेकेन्डरी स्कूलका ज्ञानराज चौधरी उत्कृष्ट प्रदर्शनका आधारमा म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा मनकामना सेकेन्डरी स्कूल र मेरीगोल्ड स्कूलबीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्धारित समयमा दुवै टोली बराबरीमा रहेपछि खेल टाइ–ब्रेकरमा पुगेको थियो। टाइ–ब्रेकरमा मनकामना सेकेन्डरी स्कूलले उत्कृष्ट धैर्यता र कौशल प्रदर्शन गर्दै ८–६ गोलको अन्तरले विजय हासिल गर्न सफल भयो। उक्त खेलमा मनकामना सेकेन्डरी स्कूलका अमर कुश्वाहाले म्यान अफ द म्याचको उपाधि प्राप्त गरे।
प्रतियोगिताबारे जानकारी दिँदै डि.ए.भी. आर.बी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन तथा आपसी सद्भावको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, प्रतियोगिताका आगामी दिनहरूमा अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू हेर्न पाइने उहाँले जानकारी दिनुभयो।
उक्त प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।