पर्सा पोस्ट , माघ ०६ गते , बिरगंज ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सर्राफले जिल्ला समन्वय समिति पर्साको कार्यालयमा स्थापना गरिएको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सर्राफले देशमा अहिले नेतृत्व परिवर्तनको खाँचो रहेको बताएका छन्। युवाहरू वैकल्पिक तथा नयाँ नेतृत्वको खोजीमा रहेको उल्लेख गर्दै उनले यही अपेक्षालाई सम्बोधन गर्न आफू उम्मेदवार बनेको स्पष्ट पारे। देशमा परिवर्तन अपरिहार्य भइसकेको र जनताले अब पुरानै शैलीको राजनीतिभन्दा फरक विकल्प चाहिरहेको उनको भनाइ थियो।
सर्राफले पर्सा–१ बाट यसअघि पटक–पटक निर्वाचित सांसदहरूले वीरगञ्जको समग्र विकासका लागि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए। वीरगञ्जको ऐतिहासिक र आर्थिक महत्व हुँदाहुँदै पनि यस क्षेत्रको गौरव जोगाउन तथा स्थानीय समस्या समाधान गर्न निर्वाचित प्रतिनिधिहरू असफल भएको उनले दाबी गरे।
“वीरगञ्जको वास्तविक आवाज संसद्मा प्रभावकारी रूपमा उठ्न सकेन,” सर्राफले भने, “खोसिएको गौरव फर्काउन र यहाँका जनताका समस्या राष्ट्रिय तहमा पुर्याउन मैले उम्मेदवारी दिएको हुँ।”
उनले यसअघि निर्वाचित सांसदहरूले नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस तथा नारायणी रङ्गशालाजस्ता महत्वपूर्ण संस्थाको स्तरोन्नतिमा आवश्यक चासो नदेखाएको आरोपसमेत लगाए। साथै, वीरगञ्जको लाइफलाइनका रूपमा चिनिने सिर्सिया नदीको सरसफाइ र प्रदूषण नियन्त्रणका विषयमा पनि विगतका जनप्रतिनिधिहरूले कुनै ठोस पहल नगरेको उनको भनाइ थियो।
सर्राफले आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। वीरगञ्ज र पर्सा जिल्लाको समग्र विकासका लागि निरन्तर संघर्ष गर्ने उनको प्रतिबद्धता रहेको उनले बताएका छन्।