पर्सा पोस्ट , माघ ०४ गते , बिरगंज ।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको स्मृति दिवसको अवसरमा आइतबार मानव सेवा आश्रम, वीरगञ्जमा दिवा भोजन कार्यक्रम आयोजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रम मुकुन्द खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा प्रतिष्ठानका सल्लाहकार तथा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व सभापति प्रमोद कुश्वाहा, समाजसेवी प्रेमशंकर सिंह, नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर, अमरटोल सुधार समितिका अध्यक्ष सञ्जय पटेल, मानव सेवा आश्रम वीरगञ्जका प्रमुख देवेश गुप्ता लगायत रहनुभएको थियो।
यसैगरी कार्यक्रममा समाजसेवीहरू रितेश गुप्ता, अरुण पुरी, प्रतिष्ठानका उपाध्यक्ष पत्रकार युवराज खड्का, बिकन स्कुलका प्रधानाध्यापक जयकुमार दनुवार, सदस्यहरू श्रवण बहादुर रायमाझी, नवराज भट्टराई, पत्रकार सूर्य विक, नेहा मिश्रासहित आमन्त्रित सदस्य शुभास सिंह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता उपाध्यायले शैक्षिक सहिद मुकुन्द खनालले वीरगञ्जलाई कर्मथलो बनाई ठाकुरराम क्याम्पसमा अध्यापन गराउँदै शिक्षा र सामाजिक सेवामा पुर्याउनुभएको योगदान स्मरणीय रहेको बताउनुभयो। उहाँले दिनदुखी तथा असहायको सेवा नै मानव जीवनको सर्वोत्तम कर्म भएको उल्लेख गर्दै प्रतिष्ठानले छोटो समयमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा गरेका कार्यहरू प्रशंसनीय रहेको बताउनुभयो।
विशिष्ट अतिथि तथा इन्सेक प्रतिनिधि पत्रकार तुलसी भण्डारीले शैक्षिक सहिद मुकुन्द खनालको शिक्षा र सामाजिक क्षेत्रमा रहेको योगदानलाई जीवन्त राख्न प्रतिष्ठानले सञ्चालन गर्दै आएका कार्यक्रमहरू उदाहरणीय रहेको बताउनुभयो। मानव सेवा आश्रममा आएर दिवा भोजन कार्यक्रममार्फत स्मृति दिवस मनाइएकोमा आफू हर्षित भएको बताउँदै उहाँले प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा शैक्षिक सहिद खनालकी जेठी सुपुत्री मुना खनालले मानव सेवा आश्रम मानवताको सुन्दर मन्दिर भएको उल्लेख गर्दै यहाँ आश्रित लक्ष्मी–नारायणजस्ता दीनदुखी तथा असहायसँग सेवा र सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो। अघिल्लो वर्षजस्तै आगामी दिनहरूमा पनि आश्रमसँग निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, सल्लाहकार, शुभेच्छुक, पदाधिकारी, सदस्य तथा विशेषगरी आश्रम प्रमुख देवेश गुप्ता र सम्पूर्ण आश्रम परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पत्रकार युवराज खड्काले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंहले गर्नुभएको थियो।