पर्सा पोस्ट, माघ ०३ गते, वीरगञ्ज ।
फिटनेस रन जिरो लाइन कार्यक्रमअन्तर्गत आईसीपी रक्सौलको तत्वावधानमा साढे दुई किलोमिटर म्याराथन दौड आयोजना गरिएको छ। सीमावर्ती क्षेत्रका नागरिकहरूमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त दौड कार्यक्रम शनिबार सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगञ्जका कन्सुलर जनरल डी.एस. मीना, कन्सुलर जनरल महेश दास, बन्दरगाह प्रशासक कुमार राजीव रञ्जन, रक्सौलका सहायक भन्सार आयुक्त राघवेन्द्र साह, एसएसबी डेपुटी कमान्डेन्ट दीपक कृष्ण, वीरगञ्ज आईसीपी प्रबन्धक गणेश प्रसाद घिमिरे, मेडिकल अफिसर–इन–चार्ज डा. राजीव रञ्जन तथा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष लायन विमल सर्राफले धावकहरूलाई झण्डा देखाएर गरेका थिए।
म्याराथन दौड दिल्लीकी पूर्व एसियाली म्याराथन च्याम्पियन डा. सुनिता गोदाराको मार्गदर्शनमा सम्पन्न भएको थियो। उनले यस्ता फिटनेससम्बन्धी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कन्सुलर जनरल डी.एस. मीनाले स्वस्थ शरीर, तन्दुरुस्ती तथा शान्त र एकाग्र मनका लागि नियमित दौड र व्यायाम अत्यन्तै आवश्यक रहेको बताए। यस्ता कार्यक्रमहरूले आपसी प्रेम, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता बन्दरगाह प्रशासक कुमार राजीव रञ्जनले गरेका थिए। उनले आजको द्रुत गतिको जीवनशैलीका कारण मानिसहरू स्वास्थ्यप्रति लापरवाह बन्दै गएको र यसकै परिणामस्वरूप गम्भीर रोगहरू बढ्दै गएको बताए। उनले सीमावर्ती क्षेत्रका नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत गराउँदै नियमित व्यायाम र दौडन प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गरे।
म्याराथनमा स्कूलका विद्यार्थीहरू, सीमावर्ती गाउँका बासिन्दा, आईसीपीका कर्मचारी तथा एसएसबीका सैनिकहरू गरी करिब २५० जनाको सहभागिता रहेको थियो। दौडमा उत्कृष्ट प्रदर्शन गर्ने विजेता तथा उपविजेताहरूलाई पदक र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब रक्सौलका अध्यक्ष लायन विमल सर्राफ, शिखा रञ्जन, आईसीपी कर्मचारी श्यामबाबु सिंह, रमनकुमार झा, अख्तर सैफी, कुन्दन कुमार, विभिन्न विद्यालयका शिक्षकहरू भिक्टर डेका, कुन्दन पाण्डे, नारायण प्रसाद, प्रदीप कुमार दास लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।