पर्सा पोस्ट, पुष १३ गते, बीरगन्ज ।
गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले बीरगन्जका समाजसेवी मनिष दासले आइतबार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष स्थापनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
चित्रगुप्त संरक्षक परिषद्का पूर्व अध्यक्ष तथा बीरगन्ज महानगरपालिका वडा नम्बर १ निवासी स्वर्गीय प्राध्यापक डा. कुलानन्द लाल दासको चिरस्मृतिमा उनकी धर्मपत्नी रम्भा देवी दास तथा छोराहरू सुभाष कुमार दास र मनिष दासले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराएका हुन्। वरिष्ठ शिक्षाविद् स्व. प्रा.डा. दास ठाकुरराम क्याम्पसमा कार्यरत रहनुभएको थियो।
बुधबार आयोजित कार्यक्रममा दाता परिवारको तर्फबाट मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष महेश दास तथा कोषाध्यक्ष डा. आलोक चन्द्र दत्तलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
स्व. प्रा.डा. कुलानन्द लाल दासका सुपुत्र मनिष दासले पिताजीको नाम चिरस्मरणीय बनाउन अक्षयकोष स्थापना गरिएको बताउँदै चित्रगुप्त समिति मार्फत गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने जानकारी दिए। उनका अनुसार पिताजी चित्रगुप्त समितिको स्थापनाकालदेखि नै सक्रिय रहँदै अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्नुभएकोले आमाको इच्छाअनुसार समितिमार्फत सहयोग गर्ने निर्णय गरिएको हो।
चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष महेश दासले दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रूपमा विपन्न तर जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गरिने र अत्यावश्यक अवस्थामा रहेका विरामीलाई उपचार सहयोग गरिने बताए। साथै उनले यस अक्षयकोषमा अन्य दाताहरूलाई पनि इच्छाएको व्यक्तिको नाममा योगदान गर्न अपिल गरे।