पर्सा पोस्ट, मंसिर २५ गते, बिरगञ्ज।
रानीघाटस्थित जिवन ज्योति सेकेन्डरी स्कुलले आज ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे २०८२’ कार्यक्रम अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। विद्यालयका विद्यार्थी, अभिभावक, हजुरबुबा–हजुरआमाहरू तथा गण्यमान्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयले पारिवारिक सद्भाव, ज्येष्ठ नागरिकप्रतिको सम्मान र बालबालिकाको सृजनात्मक क्षमताको प्रदर्शनलाई विशेष रूपमा प्रस्तुत गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष रेनु अग्रवाल रहेकी थिइन्।
त्यसैगरी मानवसेवा आश्रमका संस्थापक तथा समाजसेवी देवेश गुप्ता, बिरगञ्ज युवा समाजका अध्यक्ष सन्जिव थापा, लायन्स क्लब बिरगञ्ज परिवारका अध्यक्ष नरोतम पाण्डे, स्कुल सञ्चालिका मिनाक्क्षी गुप्ता लगायत प्रतिष्ठित व्यक्तित्वहरू विशिष्ट अतिथिहरूका रूपमा उपस्थित थिए।
कार्यक्रममा एलकेजी, युकेजी र नर्सरी कक्षाका बालबालिकाहरूले विभिन्न नृत्य, गीत, नाटक तथा सांस्कृतिक प्रस्तुति दिएर अतिथिहरूलाई मन्त्रमुग्ध पारे। विद्यालयका अनुसार यस कार्यक्रमले बाल–मनोविज्ञान, आत्मविश्वास वृद्धि र परिवारभित्रको सम्मानको संस्कृति झनै मजबुत बनाउने उद्देश्य बोकेको छ।
हजुरबुबा–हजुरआमाहरूलाई समर्पित विभिन्न रमाइलो खेलकुद गतिविधि समेत आयोजना गरिएको थियो। खेलमा विजयी तथा सहभागितामध्ये सबैलाई विद्यालयले सम्मान जनाउँदै उपहार (गिफ्ट) वितरण गरेको छ।
कार्यक्रम स्कुलका सञ्चालक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।
सञ्चारकर्मी उज्ज्वल घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए। विद्यालयले शिक्षा–शिक्षणसँगै सामाजिक, सांस्कृतिक तथा प्रेरणादायी गतिविधि निरन्तर रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।