पर्सा पोस्ट, मंसिर १८ गते, वीरगंज ।
सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा देशभरका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो। वीरगंज महानगरपालिकाको आयोजनामा गरिएको उक्त बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शहरबीच सहकार्य तथा आगामी वर्षका योजनाबारे विस्तृत छलफल गरिएको थियो।
बैठकले विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जनाउँदै विपद् सम्बन्धी कोष स्थापना, नगरपालिका समूह दर्ता, फोकल पर्सन तोक्ने, प्रत्येक ६ महिनामा नियमित बैठक सञ्चालन गर्ने तथा सचिवालय दर्ता गर्ने महत्वपूर्ण निर्णयहरू गरेको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो। साथै, आगामी बैठक जेठ महिनामा गोदावरी नगरपालिकामा आयोजना गरिने भएको छ।
बैठकमा बिपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका प्रा. डा. आममोदणी दीक्षित र डा. गणेश कुमार जिमीले जोखिम न्यूनीकरण केन्द्रको आवश्यकता, कार्ययोजना तथा स्थानीय तहको भूमिकाबारे विस्तृत प्रस्तुति दिएका थिए। उनीहरूले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, लैङ्गिक विभेद तथा विपद् व्यवस्थापनमा स्थानीय तहको जिम्मेवारी र सार्वजनिक सचेतनाको महत्त्वबारे जोड दिए।
कार्यक्रमको उद्घाटन सिटीनेट नेपालका अध्यक्ष तथा विराटनगर प्रमुख नागेश कोइराला र वीरगंज प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रमको शुरुमा काठमाडौं प्रमुख बालेन साहका दिवंगत पिताप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो। स्वागत मन्तव्य उप–प्रमुख इम्तियाज आलमले प्रस्तुत गर्नुभएको थियो।
सिटीनेटमा एसिया–प्रशान्तका १०३ सदस्य पालिका रहेका छन्। नेपालका १६ सदस्य पालिकाहरूमा वीरगंज, ललितपुर, भरतपुर, पोखरा, तानसेन, विराटनगर, जितपुर–सिमरा लगायतका नगरपालिकाहरू रहेका छन्। सिटीनेटको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो।
समापन सत्रमा नगरप्रमुख सिंहले “बैठकमा प्राप्त सुझाव र अनुभवहरूले आगामी दिनमा प्रभावकारी कार्यान्वयनमा मार्गदर्शन गर्नेछ” भन्ने विश्वास व्यक्त गर्नुभयो। समापन सम्बोधन अध्यक्ष नागेश कोइरालाले गर्नुभएको थियो।