पर्सा पोस्ट, मंसिर १० गते, बिरगंज ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वडा प्रहरी कार्यालय विर्ता, पर्सा तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–५ स्थित मुनलाईट स्कुलमा दाइजो प्रथा तथा बालविवाह सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक बिक्रम सुवेदीले कक्षा ९ का विद्यार्थीहरूलाई सम्बोधन गर्दै दाइजो प्रथाले निम्त्याउने आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक दुष्प्रभावबारे विस्तृतरूपमा जानकारी गराए। उनले दाइजो लिन–दिनु दुवै कार्य कानूनी रूपमा दण्डनीय रहेको बताउँदै समाज परिवर्तनका लागि युवापुस्ताले नै अगाडि आएर गलत प्रथाविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए।
त्यस क्रममा निरीक्षक सुवेदीले बालविवाहले युवतीहरूको स्वास्थ्यमा पर्ने गम्भीर असर, शिक्षा बाधित हुनुका साथै घरेलु हिंसा बढाउने जोखिम उच्च हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई बालविवाह रोकथाममा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। समुदाय र प्रहरीबीचको सहकार्यले मात्र लैंगिक हिंसा नियन्त्रण प्रभावकारी हुने उनको भनाइ थियो।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा सचिव श्रवण बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो। सो अवसरमा विद्यालयका निर्देशक सुलभ केसी, समाजसेवी सुशील बर्णवाल, सञ्जु दाहाल, श्याम केसी लगायतको उपस्थिति रहेको थियो।