पर्सा पोस्ट, मंसिर ०८ गते, बिरगंज । वीरगञ्ज महानगरपालिका–३०, लालपर्सास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च हस्तान्तरण गरेको छ।
विद्यालयमा देखिएको पूर्वाधार आवश्यकता तथा विद्यार्थीहरूको सहज सिकाइ वातावरणलाई प्राथमिकतामा राख्दै पार्टीका अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा सामग्री प्रदान गरिएको हो।
स्कुल व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता र नागेन्द्र यादव, महानगर उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल, अनिल शर्मा सहित स्थानीय भद्रभलाद्मी तथा शिक्षक–शिक्षिकाको उपस्थिति थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेम बहादुर आचार्यले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओमप्रकाश सर्राफले शिक्षालाई समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै विद्यालयको वातावरण सुधारमा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। “मधेस प्रदेशको शैक्षिक सूचकांक कमजोर हुनु चिन्ताको विषय हो। यस्तो अवस्थामा समुदाय, स्थानीय सरकार र राजनीतिक दलले संयुक्त रूपमा विद्यालय सबलीकरणमा भूमिका खेल्न आवश्यक छ,” उनले भने।
सर्राफले आधारभूत शैक्षिक पूर्वाधार अभावले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने बताए। “हामीले गरेको सहयोग सानो भए पनि विद्यालयको सुधारमा टेवा पुग्ने विश्वास छ,” सर्राफले भनाइ जोड्दै जनमत पार्टी पर्साले आफ्नो स्तरबाट निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए।