पर्सा पोस्ट, मंसिर ०८ गते, बिरगंज । बिरगंज तेक्वान्दो दोजाङका संचालक एवं प्रशिक्षक महमद वेसलाई युवा खेलप्रेमी कृष्णा आलेले महत्वपूर्ण खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। खेलाडीहरूको क्षमता अभिवृद्धि र प्रशिक्षणको गुणस्तरलाई अझ प्रभावकारी बनाउन गरिएको यो सहयोगलाई दोजाङका प्रशिक्षक तथा खेलाडीहरूले अत्यन्तै उत्साहपूर्वक स्वागत गरेका छन्।
सामग्री हस्तान्तरण कार्यक्रमका क्रममा कृष्णा आलेले खेलले युवाहरूलाई अनुशासन, धैर्य, आत्मविश्वास र सकारात्मक जीवनदर्शन सिकाउने भएकाले यस प्रकारको सहयोग अत्यन्तै आवश्यक रहेको बताए। उनले भने, “Taekwondo केवल खेल मात्र होइन, अनुशासन, आत्मविश्वास र जीवनशैली हो। बिरगंजका युवाहरूमा रहेको प्रतिभा प्रशंसनीय छ। उनीहरूको तयारीलाई थप मजबुत बनाउन केही योगदान गर्न पाउँदा खुशी लागेको छ।”
दोजाङका प्रमुख प्रशिक्षक महमद वेसले प्रदान गरिएको सामग्रीले प्रशिक्षणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “नयाँ सामग्रीले खेलाडीहरूको अभ्यासलाई व्यवस्थित, सुरक्षित र आधुनिक शैलीमा अघि बढाउन मद्दत गर्नेछ। कृष्णा आले सरज्यूलाई हार्दिक धन्यवाद छ।”
कार्यक्रममा उपस्थित खेलाडीहरूले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता दोहोर्याए। उनीहरूका अनुसार नयाँ सामग्रीले प्रशिक्षणमा सहजता आउने, तकनीकी अभ्यास थप प्रभावकारी हुने र आत्मविश्वास वृद्धि हुने छ।
बिरगंजमा पछिल्ला वर्षहरूमा मार्शल आर्ट तथा टेक्वान्दोप्रतिको आकर्षण तीव्ररूपमा बढ्दै गएको समयमा प्राप्त भएको यो सहयोगले स्थानीय खेल क्षेत्रलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। खेलकुदमा निजी तथा सामाजिक क्षेत्रबाट हुने यस्ता सहयोगहरूले प्रतिभावान युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरूको मूल्यांकन छ।
दोजाङको व्यवस्थापन पक्षले आगामी दिनमा पनि समुदाय, संस्थागत क्षेत्र तथा खेलप्रेमी व्यक्तिहरूसँग सहकार्य विस्तार गर्दै खेलाडीहरूको भविष्य विकासमा निरन्तरता दिने जनाएको छ।