पर्सा पोस्ट, कार्तिक २९ गते,वीरगञ्ज।वीरगञ्ज महानगरपालिका–२४ स्थित रामगढवा एकता युवा क्लबद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवाको उद्देश्यसहित आयोजित उक्त रक्तदान कार्यक्रममा कुल ८१ जनाले स्वेच्छाले रक्तदान गरेका क्लबले जानकारी दिएको छ।
क्लबका प्रतिनिधि त्रिलोकी पटेलका अनुसार रक्तदातामध्ये ७५ जना पुरुष तथा ६ जना महिला रहेको उल्लेख गरियो। रक्तदान गर्नेहरूमा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रवीण देवी, खुश्बु कुमारी, लक्ष्मी कुमारी, रमिता देवीलगायत स्थानीय युवा उत्साहपूर्वक सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व कानुन मन्त्री अजय कुमार चौरसिया उपस्थित भई कार्यक्रम उद्घाटन गरेका थिए। त्यस्तै विशिष्ट अतिथिहरूमा मधेश प्रदेशका सांसद श्याम पटेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट, प्रहरी वरिष्ठ उपरीक्षक हिर कुमार बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक राजु कार्की, ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाल तथा श्रीपुर प्रहरी निरीक्षक नविन थापा मगर उपस्थित थिए।
रोशन कुमार कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरूले नियमित रक्तदानले जीवनरक्षा तथा सामाजिक सहकार्यमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै क्लबले सञ्चालन गर्दै आएको सामाजिक अभियानको प्रशंसा गरेका थिए।
कार्यक्रममा स्थानीय वासिन्दा,स्वास्थ्यकर्मी, समाजसेवी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। रामगढवा एकता युवा क्लबले आगामी दिनमा पनि सामाजिक तथा सेवा–मुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।