पर्सा पोस्ट, कात्तिक २७ गते, वीरगंज।
सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा वीरगंज महानगरपालिका वडा नं. २ छपकैयाको सहयोगमा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्यमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
कार्यक्रममा १६० जनाले आँखा परीक्षण गराएका थिए भने तीमध्ये ४४ जनामा मोतियाबिन्दु रोग पाइएको अस्पतालका प्राविधिकहरूले जनाएका छन् । मोतियाबिन्दु भेटिएका ४४ जनामध्ये पुरुष २२ र महिला २२ जना रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले सामुदायिक सेवा केन्द्रले निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो।
उहाँले भन्नुभयो —“छपकैयाको सामुदायिक सेवा केन्द्रले वडा बासीकालागि आँखा शिविरजस्ता उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा म अध्यक्ष हाजी डा. ग्यासुदिन ठकुराईलाई हार्दिक धन्यवाद दिन चाहन्छु। वडा अध्यक्ष रेयाज मियाको सक्रियतामा कार्यक्रम सफल भएको छ। आगामी दिनमा पनि यसरी जनहितका कार्यक्रम निरन्तर हुने अपेक्षा राख्छु।”
त्यसैगरी वडा नं. २ का अध्यक्ष महमद रेयाज मियाले मोतियाबिन्दु भएका बिरामीहरूका लागि आगामी शनिबार निःशुल्क अपरेसन गरिने जानकारी दिनुभयो।उहाँले थप भन्नुभयो —“मोतियाबिन्दुको उपचारमा कुनै शुल्क लाग्ने छैन। वडा कार्यालय र सामुदायिक सेवा केन्द्र मिलेर सम्पूर्ण सहयोग गर्नेछ।” कार्यक्रमका सह–संयोजक महेश सिंह धामीले पनि शनिबारदेखि निःशुल्क अपरेशन सुरु हुने जनाएका छन्।
कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम भण्डारी , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी, वडा सदस्य बसिर मिया, अब्दुल लतिफ मिया अंसारी , सामुदायिक सेवा केन्द्र छ्पकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सदस्य धिरज शर्मा , अजित भुजेल , अब्दुल क्यास तेलि लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी डा. ग्यासुदिन मिया ठकुराईले गर्नुभएको थियो।
सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छपकैया सामुदायिक सेवा केन्द्रले यसअघि पनि निःशुल्क आँखा शिविर, खुला रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ कार्यक्रम, न्यानो कपडा वितरण, तथा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।