पर्सा पोस्ट, कार्तिक २१ गते, बिरगंज ।
जागृती महिला मिसन वीरगंजले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। मिसनका अध्यक्ष सुधा मिश्राको नेतृत्वमा रितु श्रेष्ठ, सरिता श्रेष्ठ, उषा प्रधान, गिन्नी झा, रिता ताम्राकार, राजकुमारी झा र अर्चना राज गुप्ताले २ बोरा, १ ब्याग र ६ झोला कपडाहरू वीरगंज कपडा बैंकको कार्यालयमा पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन्।
सो अवसरमा वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेल र कार्यालय सहयोगी शोभा देवी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा मिसनकी अध्यक्ष मिश्राले वीरगंज कपडा बैंकले विगत केही वर्षदेखि दिन–दुःखी, असहाय, आगलागी तथा बाढीपीडितका घरदैलोमै पुगेर निस्वार्थ सेवा प्रदान गर्दै आएको कार्यप्रति खुशी व्यक्त गर्दै भनिन्, “हामी सबैले यस मानवसेवामूलक अभियानमा हातेमालो गर्न आएका हौँ, साथै आउँदो जाडोमा पनि न्यानो कपडाको व्यवस्थापनमा साथ सहयोग गर्नेछौँ।”
त्यसैगरी, बैंककी उपाध्यक्ष मोनिका सिंहले “तपाईंसँग धेरै छ भने हामीलाई दिएर जानुहोस्, र तपाईंलाई आवश्यकता छ भने हामीसँग निःशुल्क लानुहोस्” भन्ने मुलमन्त्रअन्तर्गत बैंकले ७ वर्षदेखि वीरगंज–८ मा कार्यालय स्थापना गरी पर्सा र बाराका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको बताइन्। उनले जागृती महिला मिसनका सबै सदस्यलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रमका अन्त्यमा बैंकका अध्यक्ष लालबाबु सिंहले महिलाको सशक्तीकरण र सेवा–सहयोगका क्षेत्रमा सक्रिय भूमिकाका लागि जागृती महिला मिसनप्रति आभार व्यक्त गरे। साथै उनले आउँदो जाडोको समयमा पुराना तथा नयाँ न्यानो कपडा र कम्बल सहयोग गर्न सम्पूर्ण मानवताप्रेमी सहयोगी हातहरूलाई आग्रह गरे।