पर्सा पोस्ट, कार्तिक १४ गते, वीरगंज।
वातावरण संरक्षण र हरियाली अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरगंज महानगरपालिका कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम वीरगंज महानगरपालिका–२४ (आईसीपी जाने टर्निङ) मा आयोजित गरिएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथि रहनुभएको थियो भने, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा वरिष्ठ प्रहरी उपरीक्षक शान्ति राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीप राज पाठक, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवाल, र भारतीय महावाणिज्य दूतावास वीरगंजका दूत डिएस मिना लगायतका गण्यमान्य व्यक्तिहरू उपस्थित रहेका थिए।
आज वीरगंजमा मौसम प्रतिकूल र वर्षा भइरहे पनि वृक्षारोपण, व्यवस्थापन तथा सरसफाइ कार्य उत्साहपूर्वक सम्पन्न गरिएको थियो। कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएको बताइएको छ।
कार्यक्रममा सामुदायिक प्रहरी आदर्शनगरका आजीवन सदस्य, प्रहरी कर्मचारी, पदाधिकारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
मेयर राजेशमान सिंहले यस्तो अभियानले वीरगंजलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउने लक्ष्यमा टेवा पुग्ने बताउँदै, “वृक्षारोपण मात्र होइन, तिनको संरक्षणमा पनि सबैको समान जिम्मेवारी हुन्छ,” भन्ने धारणा व्यक्त गर्नुभयो।
अन्त्यमा आयोजक संस्थाहरूले वीरगंजका अन्य वडाहरूमा पनि निकट भविष्यमा यस्ता वृक्षारोपण तथा सरसफाइ अभियान विस्तार गर्ने योजना रहेको बताए ।