पर्सा पोस्ट, कार्तिक ५ गते, वीरगन्ज। हिन्दु स्वयंसेवक संघ नेपाल, वीरगन्जले शुभ दिपावलीको अवसरमा वीरगन्जका सनातन धर्मावलम्बीहरूलाई मिठाई वितरण गर्दै दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
“संगठित हिन्दु, संघ परिवार”को आयोजना तथा पहलमा गरिएको सो कार्यक्रममा प्रहरी प्रशासन, मन्दिरका पुजारी, महन्त, तथा सडकमा बसोबास गर्ने असहाय परिवारहरूलाई समेत मिठाई वितरण गरिएको थियो। कार्यक्रमको उद्देश्य सामाजिक–धार्मिक एकता, पारिवारिक भावना र सानो खुसी बाँड्ने सन्देश फैलाउनु रहेको संघले जनाएको छ।

संघका पदाधिकारीहरूले हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि सबै सनातनधर्मीहरू एकताको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामाजिक र धार्मिक परम्पराको प्रवर्द्धनका लागि संघले बेला–बेलामा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताए।
संघले विगत पाँच वर्षदेखि निरन्तर रूपमा दिपावलीको अवसरमा मिठाई वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि घर जान नसकेका नारायणी अस्पतालमा बिरामीका कुरुवा, सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरू, तथा स्थानीय बस्तीका परिवारहरूलाई समेत मिठाई वितरण गरिएको थियो।
श्री लक्ष्मी पूजाको दिन संघका स्वयंसेवकहरूले विभिन्न स्थानमा शुभकामना आदानप्रदान गर्दै दिपावली उत्सव मनाएका थिए। कार्यक्रममा सहभागी स्वयंसेवकहरूले “नेपाल हाम्रो आमा हो, हामी सबै नेपाली एउटै परिवारका सन्तान हौं। हाम्रो संस्कार र संस्कृति हामी सबै मिलेर जगेर्ना गरौं” भन्ने सन्देश प्रवाह गरेका थिए।