पर्सा पोस्ट, ३१ श्रावण, वीरगन्ज । वीरगन्ज समाज सेवाद्वारा वीरगन्जको नारायणी अस्पताल परिसरमा लगातार १९औं महिनाको पहिलो शनिबार निःशुल्क साप्ताहिक भोजन कार्यक्रम सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको छ।
लगातार डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेबाट सञ्चालन हुँदै आएको उक्त निःशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवाहरू, असहाय व्यक्तिहरू, साथै रिक्सा–ईरिक्सा चालक तथा यात्रु बटुवाहरूलाई घरमा बनाएको जस्तै सफा, सुग्घर, शुद्ध र गुणस्तरीय पोषिलो भोजन वितरण गर्दै आएको छ।
सो अवसरमा वीरगन्ज समाज सेवा का अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै हरेक हप्तामा करिब ४५० देखि ५०० जना लाभान्वित हुँदै आएको जानकारी दिए। उनले दिन–दुःखी तथा असहायहरूको पेट भरेर तिनको अनुहारमा खुशी देख्दा आफूहरू अत्यन्त सन्तुष्टि र गौरव महसुस गर्ने बताए।
कार्यक्रमका सेवक लालबाबु सिंहले मानवताको सबैभन्दा ठूलो धर्म र कर्म सेवा तथा सहयोग नै भएकोले यो अभियान सुरु गरिएको बताउँदै, यस अभियानमा हातेमालो गर्न इच्छुक सबैलाई स्वागत गरे। उनले सबैलाई आफ्नो ठाउँबाट असहाय र दुःखीहरूको सहयोगमा जोडिन आग्रह गरे।
आजको भोजनमा शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल, आलु–परवलको तरकारी र हरियो खुर्सानीको अचार परोसी वृद्ध, महिला र बच्चाहरूलाई माया र सम्मानसहित खुवाइयो।
निःशुल्क भोजन सेवामा समाजका सेवादारहरू लालबाबु सिंह, निसान्त लाठ, दीपक कण्ठ, कल्पना किङरिङ, बिक्की गुप्ता लगायतले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए।