पर्सा पोस्ट, ३१ असोज, वीरगन्ज। शुभ दीपावलिको अवसरमा वीरगन्ज कपडा बैंकले शुक्रबार घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले प्रत्येक दिन आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि बेलुकी ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट गरीब तथा असहायलाई कपड़ा वितरण गर्दै आएको जनाएको छ। यसै क्रममा शुक्रबार मात्र नयाँ–पुराना गरी करिब ९ सय थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले जानकारी दिएका छन्।
कार्यक्रममा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता र संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विशेष अतिथि अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी हुकुम सिंह, नरेन्द्र पटेल, सल्लाहकार श्रवण बहादुर रायमाझी, उपाध्यक्ष मोनिका सिंहलगायतको सहभागिता रहेको थियो।
प्रमुख अतिथि कुर्मीले विगत ६ वर्षदेखि विपद्पीडित, असहाय र गरिब समुदायलाई सहयोग गर्दै आएको बैंकको कार्यप्रति प्रशंसा गर्दै, “जोसँग बढी छ उनले दिनुस्, जसलाई चाहिन्छ उनले लिनुस्” भन्ने भावनालाई आत्मसात गर्न आग्रह गरे। उनले दीपावली तथा छठ पर्वको शुभकामना पनि व्यक्त गरे।
विशिष्ट अतिथि गुप्ताले मानवताको सेवामा सबैको साझा प्रयास आवश्यक रहेको भन्दै सहयोग र सहभागिताको आह्वान गरे।
कार्यक्रमको अन्त्यमा अध्यक्ष सिंहले बैंकको अभियानमा साथ दिने सबै दाता, शुभेच्छुक र स्वयंसेवकप्रति धन्यवाद ज्ञापन गरे।