पर्सा पोस्ट, असोज ४ गते, वीरगञ्ज। कुम्हालटोल टोल सुधार समाज, वीरगञ्ज–७ द्वारा रेल्वेरोडमा अवस्थित पञ्चमुखी हनुमान मन्दिर (सामुदायिक प्रहरी कुम्हालटोल) अगाडि आज शनिबार लगातार १४ औँ निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ।
यस अवसरमा समाजका सेवकहरूले बाटोमा हिँड्ने पर्यटक, बटुवा, रिक्षा, ठेला, इ–रिक्षा चालक तथा गरिब असहायलाई दाल–भात, परवल आलु चनाको तरकारी र भुटेको हरियो खुर्सानीको अचार निशुल्क भोजन गराएका थिए।
कार्यक्रम कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा विशेष अतिथि सेवकका रूपमा वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, अमरटोल टोल सुधार समिती वीरगञ्जका सचिव युवा समाजसेवी नवराज भट्टराई, समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सल्लाहकार श्रवणबहादुर रायमाझी, समाजसेवी गोबिन्द ताम्राकारलगायत स्थानीय अग्रज तथा युवाहरूको बाक्लो सहभागिता रहेको थियो।
सो अवसरमा बोल्दै कपडा बैंक अध्यक्ष सिंहले दिनदुखी तथा असहायलाई सेवा–सहयोग गर्नु नै मानवको सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै कुम्हालटोल समाजले विगत १ वर्षदेखि निरन्तरता दिँदै आएको यो अभियान निकै सराहनीय रहेको बताए। उनले बसालेर सोधेर, थपेर भोजन खुवाउने सेवाको शैलीले आफूलाई निकै खुशी बनाएको उल्लेख गर्दै यस्तो सुकार्यलाई निरन्तरता दिन सबैलाई हातेमालो गर्न आग्रह गरे।
समाजका अध्यक्ष अहिरले हालसम्म प्रत्येक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको यो निशुल्क भोजन शिविरलाई आगामी दिनमा प्रत्येक १५ दिनमा र तत्पश्चात प्रत्येक शनिबार आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। उनले यस अभियानलाई निरन्तरता दिन मानवताप्रेमी सहयोगी हातहरूको आवश्यकता रहेको पनि औँल्याए।
सेवामा सहभागी सेवकहरूको आत्मीयता र समर्पण देखेर भोजन ग्रहण गर्ने सबैले मुरि–मुरि प्रशंसा गरेका थिए।