पर्सा पोस्ट, भदौ ०९ गते, बिरगंज। भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साको अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा आज वीरगंजमा एक विशेष बैठक सम्पन्न भएको छ।
बैठकमा आयोगका सदस्य सचिव राकेश झाले भोलिदेखि नै ४३ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा ७ जना अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता प्रक्रिया अघि बढाउने तयारी पूरा भएको जानकारी दिनुभयो।

बैठकमा आयोगका सदस्य, भूमि प्रशासनसँग सम्बन्धित कर्मचारी, प्राविधिक व्यक्तिहरु तथा स्थानीय तहका प्रतिनिधिहरुको सक्रिय उपस्थिति रहेको थियो।
बैठकले गरेका प्रमुख निर्णयहरू
• भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको नामावली अद्यावधिक गर्ने।
• जग्गा दर्ताका लागि आवश्यक कागजातहरूको सूची तयार गरी सर्वसाधारणलाई जानकारी दिने।
• तोकिएको समयसीमा भित्र दर्ता प्रक्रिया पूरा गर्ने।
अध्यक्ष तबरेज अहमदको भनाइ
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अहमदले भने,
“भूमिहीन नागरिकलाई जग्गा दर्ता उपलब्ध गराउनु आयोगको प्रमुख प्राथमिकता हो। यस अभियानले भूमिहीन समुदायलाई सम्मानजनक जीवनयापन गर्ने आधार प्रदान गर्नेछ।”
पारदर्शिता र छिटो कार्यान्वयनमा जोड
बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुले जग्गा दर्ता प्रक्रिया पारदर्शी, निष्पक्ष र छिटो सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।
यससँगै आयोगले छिट्टै नै सर्वसाधारणलाई जग्गा दर्ता सम्बन्धी समय तालिका सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।