पर्सा पोस्ट, साउन ५ गते, वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन क्षेत्र नम्बर ३ का सभापतिमा पोखरिया निवासी मनोज कुर्मी चयन भएका छन्।
बिरगञ्जस्थित कन्ट्री इन होटलमा शुक्रबार सम्पन्न निर्वाचन क्षेत्र नम्बर पुनर्गठन तथा पदपूर्ति कार्यक्रममार्फत कुर्मी सर्वसम्मत रूपमा सभापति बनेका हुन्। लामो समय शिक्षण पेसामा संलग्न रहेका कुर्मीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट प्रारम्भ गरेका थिए। करिब एक वर्षअघि रास्वपाको संगठन विभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तको पहलमा उनले पार्टी प्रवेश गरेका थिए।
कार्यक्रमले सात सदस्यीय क्षेत्रीय समिति पनि गठन गरेको छ। जसअन्तर्गत उपसभापतिमा महेन्द्र नारायन दास र सुजित कुमार, सचिवमा राकेश गुप्ता तथा तीन जना क्षेत्रीय सदस्य रहेका छन्।
रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तले “क्षेत्रीय समितिहरु पार्टीको मेरुदण्ड हुन्, यसले जिल्लामा संगठनलाई अझ मजबुत बनाउनेछ” भन्दै हालसम्म पर्सामा तीनवटा क्षेत्र गठन भइसकेको जानकारी दिए। उनले आगामी भदौ ७ गते शनिबार ठोरीमा क्षेत्र नम्बर ४ को समिति गठन हुने बताए।
कार्यक्रम जिल्ला सभापति हरि पन्तको सभापतित्वमा सम्पन्न भएको थियो। सो अवसरमा केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुरुषोत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदीश प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मीलगायतको उपस्थिति रहेको थियो।
