अजित कुमार भुजेल , बिरगंज । जवाफदेहिताका लागि नागरिक अभियानले आज पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बालविवाह न्यूनिकरणका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ ।
बाल विवाहले बालबालिका र किशोरकिशोरीको स्वास्थ्य तथा भविष्यमा निम्त्याउने जोखिमलाई मध्यनगर गर्दै कानूननै निर्माण भएपनि व्यवहारमा त्यसको पालना हुन नसक्दा अझै पनि वर्षेनि हजारौं बालबालिकाको बालविवाह हुनु चिन्ताजनक भएको भन्दै अभियानले प्रमुख जिल्ला अधिकारी अर्यालको ध्यानाकर्षण गराउँदै सो ज्ञापन पत्र बुझाएको हो ।
हाल पर्साका केही पालिका तथा वडाहरुले बालविवाह गराउने परिवारलाई आफ्नो कार्यालयबाट दिइने सेवा सुविधा प्रदान नगर्ने घोषणाका साथ यस कुरीतिको न्यूनिकरणको प्रयास थाले पनि अधिकांश जनप्रतिनिधिनै त्यस्ता विवाहमा सामेल हुने गरेका कारण पनि यसमा खासै परिवर्तन नदेखिएको निष्कर्षका साथ पर्साका १४ वटै पालिकाका जनप्रतिनिधिहरुसँग यस विषयमा पहल गरिदिन भन्दै सो ज्ञापन पत्र बुझाइएको हो।
अन्तरराष्ट्रिय दातृ संस्था यू.एस.एड.सी.एस.एम.र दि एसिया फाउन्डेशनको सहयोगमा हाम्रो अभियान, पर्साद्वारा सञ्चालित ‘मिडिया फेलोसिप मार्फत महिला, युवा र सीमान्तकृत समुदायको सशक्तिकरण’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार, नागरिक अगुवा, सामाजिक अभियन्ता एवं अधिकारकर्मी सम्मिलित यस अभियानले महिला र अपांगमैत्री सरकारी कार्यालय, युवा र सीमान्तकृतका अधिकारको विषयमा वकालत गर्दै आएको कार्यक्रम संयोजक सल्मा खातुनले जानकारी दिनुभयो ।
सो अवसरमा पर्सा र बाराका पत्रकार, समाजसेवी, प्राध्यापक, अधिकारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।