पर्सा पोस्ट , असार ०७ गते , वीरगञ्ज ।
दाइजोको विषयलाई लिएर लामो समयदेखि घरेलु हिंसा तथा मानसिक यातना भोग्दै आएकी एक नवविवाहित युवतीको हत्या गरिएको आरोप लगाउँदै मृतकका परिवारले श्रीमान् तथा उनका परिवारका सदस्यविरुद्ध किटानी जाहेरी दिएका छन्। घटनापछि वीरगञ्जमा तनावपूर्ण वातावरण सिर्जना भएको छ भने पीडित परिवारले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
जाहेरीअनुसार खुशबुन खातुनको विवाह करिब पाँच महिनाअघि अरबाज आलमसँग सामाजिक तथा धार्मिक परम्पराअनुसार सम्पन्न भएको थियो। विवाहको सुरुवाती केही समय सम्बन्ध सामान्य रहे पनि पछिल्ला दिनहरूमा दाइजो नल्याएको निहुँमा श्रीमान् तथा परिवारका सदस्यहरूले खुशबुनमाथि निरन्तर मानसिक तथा शारीरिक यातना दिँदै आएको आरोप परिवारले लगाएको छ।
मृतकका आफन्तका अनुसार अरबाज आलमको अर्की युवतीसँग सम्बन्ध रहेको र उनीसँग विवाह गर्ने इच्छा व्यक्त गर्दै खुशबुनलाई घरबाट निकाल्ने धम्की दिने गरिएको थियो। साथै उनलाई नियमित रूपमा कुटपिट गर्ने, खानपान तथा आधारभूत आवश्यकताबाट समेत वञ्चित गराउने र ज्यान मार्ने धम्की दिने गरिएको जाहेरीमा उल्लेख गरिएको छ।
परिवारले पटक–पटक दुवै पक्षबीच छलफल, सम्झौता तथा मेलमिलापको प्रयास गरे पनि विपक्षी पक्षले खुशबुनलाई घरमा नराख्ने तथा अर्को विवाह गराउने अभिव्यक्ति दिँदै आएको पीडित पक्षको दाबी छ।
जाहेरीमा २०८३ असार ३ गते बिहान करिब १ बजे खुशबुन खातुनलाई योजनाबद्ध रूपमा कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको तथा घटनालाई आत्महत्याको रूप दिन सिलिङ फ्यानमा झुण्ड्याइएको आरोप लगाइएको छ।
घटनाको जानकारी पाएपछि मृतकका परिवार घटनास्थल पुगेका थिए। उनीहरूले घटनालाई स्पष्ट रूपमा हत्या भएको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। घटनापछि स्थानीयवासी तथा अधिकारकर्मीहरूले समेत महिलामाथि हुने घरेलु हिंसा र दाइजो प्रथाविरुद्ध कडा आवाज उठाउनुपर्ने बताएका छन्।
प्रहरीका अनुसार घटनाको पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि त्यसका आधारमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ। अनुसन्धानमा संलग्न अधिकारीहरूले घटनालाई गम्भीर रूपमा लिइएको र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।
यसैबीच, बसपार्क नजिक रहेको पशुपति होटलमा पत्रकार सम्मेलन आयोजना गरी पीडित पक्षले सञ्चारकर्मीहरूमाझ घटनाबारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा बोल्दै परिवारका सदस्यहरूले खुशबुनलाई न्याय दिलाउन सम्बन्धित निकाय, मानवअधिकारकर्मी तथा नागरिक समाजसँग सहयोगको अपिल गरेका छन्।
पत्रकार सम्मेलनमा सहभागीहरूले दाइजो प्रथा र घरेलु हिंसाका घटनाले समाजमा अझै गम्भीर चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै दोषीलाई कानुनको दायरामा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन्। पीडित परिवारले निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।