अजित कुमार भुजेल , बिरगंज ( पर्सा )
पर्सा पोस्ट, कार्तिक २६ गते, बिरगंज। पर्सा मिलन केन्द्र काठमाडौंद्वारा आयोजित “२४औं पर्सा दिवस समारोह तथा सम्मान कार्यक्रम–२०८२” बुधबार काठमाडौंको ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद नेपालको अध्यक्षतामा र प्रा. डा. मोहन प्रसाद लोहनीको प्रमुख आतिथ्यमा पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो।
केन्द्रका सदस्य ममता भुजेलका अनुसार बि.सं. २०४७ सालमा स्थापना भएको पर्सा मिलन केन्द्रको उद्देश्य काठमाडौं उपत्यकामा स्थायी रूपमा बसोबास गरिरहेका विभिन्न पेशा तथा व्यवसायमा संलग्न पर्सावासीहरूबीच आपसी सहयोग, सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्नु रहेको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूमा —
• कला क्षेत्रमा मोडेल, अभिनेता, निर्देशक तथा कोरियोग्राफर युवराज केशरी
• महिला उत्थान तथा विकासतर्फ लक्ष्मी पोखरेल
• खेलकुद क्षेत्रमा फुटबल खेलाडी तथा रेफ्री रितु शाक्य
• सामाजिक क्षेत्रमा सुवास श्रेष्ठ
• उद्योग क्षेत्रमा क्वेस्ट फर्मास्युटिकल्सका एमडी तथा एफएनसीसीआईका पूर्व उपाध्यक्ष उमेश लाल श्रेष्ठ
• स्वास्थ्य क्षेत्रमा गण्डक अस्पतालका युवा सञ्चालक, मधेश प्रदेशका सांसद तथा पूर्व मन्त्री माननीय रहबर अन्सारी
र अन्य प्रतिष्ठित व्यक्तित्वहरू समावेश थिए।
कार्यक्रममा Lifetime Achievement Award पर्सा मिलन केन्द्रका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्ष्मी गोपाल श्रेष्ठलाई प्रदान गरिएको थियो। उनले संस्थाको स्मारिका प्रकाशनको सुरुआत गर्नेदेखि आर्थिक फन्ड वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
त्यसैगरी मरणोपरान्त “स्वर्गीय पशुपति घोष अवार्ड” प्रदान गरिएको थियो। पशुपति घोष वीरगंज नगरपालिकाका पूर्व मेयर तथा आदर्शनगर विस्तार कार्यक्रमका नेतृत्वकर्ता समेत रहेका थिए। पछि उनी मन्त्री समेत बनेका थिए। सो अवार्ड उनका परिवारका प्रतिनिधिलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य केन्द्रका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रमोद प्रसाद नेपाल, वेदमान सिंह मल्ल, प्रदेश सांसद रहबर अन्सारी लगायतले दिएका थिए।
स्वागत मन्तव्य केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद नेपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रका द्वितीय उपाध्यक्ष अताउल्लाह अन्सारी र सदस्य ममता भुजेलले र धन्यवाद ज्ञापन केन्द्रका प्रथम उपाध्यक्ष अमु सिंह सिजापतीले गरेका थिए ।