पर्सा पोस्ट, असार १२ गते, वीरगञ्ज ।
वीरगञ्जमा स्थापित उत्कृष्ट शैक्षिक संस्थामध्ये एक मानिने Birgunj Public College (BPC) ले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको छ। “25 Years of Academic Excellence” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम १३ असार २०८३ शनिबार बिहान ८ बजेदेखि BPC BIM Building मा सम्पन्न भएको हो।

दुई दशकभन्दा बढीको शैक्षिक यात्रामा वीरगञ्ज पब्लिक कलेजले वीरगञ्ज तथा मधेश प्रदेशमै गुणस्तरीय उच्च शिक्षाको केन्द्रको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको वक्ताहरूले बताएका छन्। वक्ताहरूका अनुसार BPC मधेश प्रदेशकै पहिलो उत्कृष्ट कलेजको रूपमा स्थापित हुँदै देशभरका उत्कृष्ट शैक्षिक संस्थामध्ये टप टेनभित्र पर्न सफल भएको कलेज हो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले BPC लाई “दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना” को संज्ञा दिँदै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको उल्लेख गरे। बदलिँदो समयअनुसार व्यवहारिक, अनुसन्धानमुखी, सीपमूलक तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै आएको कारण BPC को लोकप्रियता निरन्तर बढ्दै गएको उनीहरूको भनाइ थियो।

कलेज व्यवस्थापनका अनुसार सीमित स्रोत–साधन, भौतिक पूर्वाधारको अभाव, निजी शैक्षिक संस्थाबीचको प्रतिस्पर्धा, दक्ष जनशक्ति व्यवस्थापन तथा समयअनुसार परिवर्तन भइरहेका शैक्षिक चुनौतीहरूलाई सामना गर्दै कलेजले आजको अवस्था हासिल गरेको हो। स्थापनाकालमा थोरै विद्यार्थी र सीमित जनशक्तिबाट सुरु भएको कलेज अहिले हजारौं विद्यार्थीको रोजाइ बन्न सफल भएको बताइएको छ।
गुणस्तरीय शिक्षा, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको कलेजले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

कलेजलाई यहाँसम्म पुर्याउन संस्थापकहरू, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको कार्यक्रममा उल्लेख गरिएको थियो।
२५ वर्षको ऐतिहासिक अवसरमा कलेजले शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू, उत्कृष्ट शिक्षक, कर्मचारी तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, स्मरणीय अनुभव आदानप्रदान तथा कलेजको २५ वर्षे यात्रामाथि विशेष चर्चा समेत गरिएको थियो।
बिपिसी कलेजका संस्थापक एवं प्राध्यापक डा. दिपक शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी एवं जेष्ठ नागरिक पशुपति बिक्रम साहले वीरगञ्जमा रहेको Birgunj Public College ले विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै असल नागरिक र दक्ष जनशक्ति उत्पादनमा BPC अग्रस्थानमा रहेको धारणा व्यक्त गरे। साथै उनले कलेजलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कलेजको उत्तरोत्तर प्रगतिको कामना गरे।

कार्यक्रमका अध्यक्ष तथा कलेजका संस्थापक डा. दिपक शाक्यले २५ वर्षअघि सीमित स्रोत–साधनबाट सुरु भएको कलेज आज यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित हुन सफल भएको बताए। उनले यो सफलता शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वासको परिणाम भएको उल्लेख गरे।
डा. शाक्यले बदलिँदो समयअनुसार अनुसन्धानमुखी, सीपमूलक तथा प्रविधिमा आधारित शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्यका साथ कलेज अघि बढिरहेको जानकारी गराए। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, शैक्षिक उत्कृष्टता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर कलेजलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पत्रकार दिपेन्द्र चौहान, समाजसेवी मधु राणा, उषा शाह, नेशनल इन्फोटेक कलेजका अध्यक्ष मनिष सिंह, गौतम माविका प्रिन्सिपल गणेश क्षेत्री, कलेजका प्रिन्सिपल डा. बिनय श्रेष्ठ, युगल प्रसाद, प्रदीप अर्याल, देवेश गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कलेजका चेयरमेन संकल्प शाक्य विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य कलेजका कोअर्डिनेटर बासु कर्णले गरेका थिए भने कार्यक्रम सञ्चालन कलेजका उपप्राध्यापक डा. अरबिन्द श्रेष्ठले गरेका थिए।
कलेजले रजत जयन्ती समारोहलाई केवल उत्सवका रूपमा नभई शैक्षिक उत्कृष्टताको निरन्तर यात्राप्रतिको प्रतिबद्धताको रूपमा लिएको जनाएको छ। “Together, We Continue to Inspire Excellence!” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ। साथै आगामी दिनमा BPC लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ प्रतिस्पर्धी, प्रविधिमैत्री तथा अनुसन्धानमुखी शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य समेत कलेजले अघि सारेको छ।