नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

Date:

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज ।
हिमोफिलिया सोसाइटी नेपालको आयोजना तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा नारायणी अस्पतालमा “हिमोफिलिया उपचार केन्द्र विस्तार तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकास कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा नारायणी अस्पतालमा औपचारिक रूपमा हिमोफिलिया उपचार केन्द्र (एचटिसी) स्थापना गर्नुका साथै आवश्यक औषधि समेत हस्तान्तरण गरिएको थियो।

मधेस विश्वविद्यालयका उपकुलपति तथा पर्सा हेमोफिलिया सोसाइटीका अध्यक्ष प्रा. डा. दीपक शाक्यले नारायणी अस्पतालका हेमाटोलोजिस्ट डा. निरज कुमार सिंहलाई हिमोफिलिया उपचारका लागि आवश्यक औषधि हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने “फ्याक्टर” कसरी प्रयोग गर्ने भन्ने विषयमा व्यावहारिक डेमो समेत गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले नारायणी अस्पतालमा उपचार केन्द्र स्थापना भएसँगै अब मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका हिमोफिलिया तथा अन्य रक्तश्रावसम्बन्धी समस्याबाट पीडित बिरामीहरूले आफ्नै प्रदेशमै सहज रूपमा उपचार सेवा पाउने बताएका थिए।

यसअघि सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता रहेको र त्यसका कारण बिरामी तथा परिवारले महँगो खर्चसँगै धेरै दुःख र सास्ती व्यहोर्नुपरेको उल्लेख गर्दै अब त्यो समस्या क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरिएको थियो। वक्ताहरूले समयमै रोगको पहिचान, नियमित उपचार र आवश्यक औषधिको उपलब्धता भए हिमोफिलियाका बिरामीहरूले पनि सामान्य, सुरक्षित र उत्पादनशील जीवनयापन गर्न सक्ने बताएका थिए।

कार्यक्रममा हेमाटोलोजिस्ट डा. निरज कुमार सिंह, नारायणी अस्पतालका डा. प्रविण कुमार सिंह, हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटी, सचिव बुद्धिलाल श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष सुरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो।

हिमोफिलिया सोसाइटी नेपालका मधेस प्रदेश उपाध्यक्ष मुन्नालाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमोफिलियाबाट बच्न बच्चाहरूलाई चोटपटक लाग्न नदिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो। चोट लागेपछि सुरुमा चिसोपानीले सेक्नुपर्ने र त्यसपछि मात्र अस्पताल पुर्‍याएर चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्ने सुझाव दिइएको थियो।

वक्ताहरूले हिमोफिलिया भएका बालबालिकाको अवस्थाबारे विद्यालयलाई समेत जानकारी गराउनुपर्ने बताएका थिए। विद्यालयमा साथीभाइसँग खेल्ने, झैझगडा हुने तथा चोटपटक लाग्ने सम्भावना बढी हुने भएकाले रोग लुकाउनु नहुने र नियमित रूपमा चिकित्सकको परामर्श तथा उपचार लिनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटीले प्रोजेक्टरमार्फत हिमोफिलियाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले नेपालमा अझै पनि धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको जानकारी दिँदै हाल आवश्यक औषधिमध्ये करिब ५४ प्रतिशत अभाव रहेको उल्लेख गर्नुभयो।

उहाँले स्थानीय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो। हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको र आगामी दिनमा सेवा विस्तारलाई अझ सुदृढ गरिने जानकारी समेत दिइयो।

# के हो हिमोफिलिया ?
हिमोफिलिया एक वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो, जसमा शरीरमा रगत जमाउने आवश्यक “क्लोटिङ फ्याक्टर” को कमी हुन्छ। यस रोग भएका व्यक्तिमा सामान्य चोटपटक लाग्दा पनि लामो समयसम्म रगत बगिरहने, जोर्नी सुन्निने, शरीरभित्र आन्तरिक रक्तश्राव हुने लगायत समस्या देखिने गर्छ।

विशेषगरी बालबालिकामा बारम्बार नाकबाट रगत बग्ने, दाँत निकाल्दा धेरै रक्तश्राव हुने, सानो चोटमै शरीर निलो हुने तथा जोर्नी दुख्ने लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।

वक्ताहरूले सरकार, स्वास्थ्य संस्था तथा समाजले संयुक्त रूपमा सहयोग गरे हिमोफिलियाको समयमै पहिचान, उपचार र व्यवस्थापन सम्भव हुने बताएका थिए। आवश्यक औषधि, उपचार केन्द्र र जनचेतना विस्तार भए हिमोफिलियाका बिरामीहरूले पनि अन्य व्यक्तिसरह सहज र सुरक्षित जीवन बिताउन सक्ने उनीहरूको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...

श्री बिन्दवासिनि माई टि -२० क्रिक्रेट प्रतियोगिता भब्य रुपमा उद्घाटन

पर्सा पोस्ट , असार ०६ गते , वीरगञ्ज । वीरगञ्ज...