पर्सा पोस्ट , साउन ०१ गते , वीरगञ्ज, पर्सा ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको विशेष पहल तथा प्राप्त उजुरीका आधारमा वीरगञ्जका विभिन्न ब्युटी पार्लरमा संयुक्त अनुगमन गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका तथा गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गरेको पाइएपछि चार वटा ब्युटी पार्लर तथा सौन्दर्य संस्थालाई जरिवाना गरेको हो।

- अनुगमनका क्रममा वीरगञ्जको लिंक रोड घण्टाघरस्थित द बियर्ड सप ब्युटी सैलुन, आदर्शनगरस्थित औरा एलेभेन, घडिअर्वा पोखरी नजिक रहेको कुरियर्स माउन्ड ग्रुप प्रालि लाई जनही ५० हजार रुपैयाँ तथा घण्टाघर–६ स्थित हेयर ट्याग एन्ड एकेडेमी लाई १० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीका सदस्य प्रकाश कुमार शाहले जानकारी दिनुभयो।
शाहका अनुसार लामो समयदेखि उपभोक्ता ठगिएको भन्ने गुनासो तथा उजुरी आइरहेकाले विशेष अनुगमन अभियान सञ्चालन गरिएको हो। अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिम कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ (घ) अनुसार कारबाही गरिएको जनाइएको छ।

अनुगमनका क्रममा द बियर्ड साप ब्युटी सैलुनबाट करिब १५ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका सौन्दर्य सामग्री जफत गरी नष्ट गरिएको थियो भने औरा एलेभेनबाट करिब ४० हजार रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ। त्यसैगरी घडिअर्वा पोखरी नजिक रहेको कुरियर्स माउन्ड ग्रुप प्रालिबाट ५० हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका सौन्दर्य सामग्री जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ।
संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, उद्योग वाणिज्य संघ वीरगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सौन्दर्यकर्मी संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

वीरगञ्ज बजार क्षेत्रमा लामो समयदेखि सौन्दर्य सेवाको नाममा विभिन्न ब्युटी पार्लर सञ्चालन गरी उपभोक्तामाथि ठगी भइरहेको गुनासो बढ्दै गएको थियो। विशेषगरी म्याद गुज्रिएका तथा गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गर्दा उपभोक्ताको छालामा एलर्जी, संक्रमण, गम्भीर स्वास्थ्य समस्या तथा दीर्घकालीन रूपमा क्यान्सरजस्ता रोगको जोखिम बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
सुन्दर बन्ने चाहनाले ब्युटी पार्लर जाने महिला दिदीबहिनीहरू नक्कली तथा म्याद गुज्रिएका सामग्री प्रयोगका कारण स्वास्थ्य जोखिममा पर्नुका साथै आफूले तिरेको रकमअनुसारको सेवा र गुणस्तरसमेत नपाइ ठगिन बाध्य भइरहेको भन्दै नियमनकारी निकाय र व्यवसायीहरू समयमै सचेत हुनुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता ब्युटी पार्लर तथा सौन्दर्य व्यवसायमाथि नियमित अनुगमन र कडा कारबाही आवश्यक रहेको स्थानीयवासीले समेत माग गरेका छन्।