पर्सा पोस्ट, चैत १२ गते, वीरगञ्ज ।
स्रोत नखुलेको नगदसहित एक जनालाई सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको कडाइका साथको चेकजाँचका क्रममा उक्त रकम बरामद गरिएको हो।
जिल्ला पर्सा अन्तर्गत वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्साबाट खटिएको चेकपोस्ट टोलीले मंगलबार दिउँसो शंकास्पद रूपमा आउँदै गरेको मोटरसाइकल रोकी जाँच गरेको थियो।
सप्रसनि मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाइकल जाँच गर्ने क्रममा चालक पर्सा वीरगञ्ज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिल कुमार शाहलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मोटरसाइकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको नगद फेला परेको हो। बरामद नगदमध्ये नेपाली १ हजार दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ रहेको पुष्टि गरिएको छ।
पक्राउ परेका शाह, बरामद नगद तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी विकास अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। “बरामद रकमको स्रोत खुलाउने तथा यससँग सम्बन्धित अन्य व्यक्तिहरूको संलग्नता भए/नभएकोबारे समेत गहन रूपमा अनुसन्धान अघि बढाइएको छ,” उनले बताए।
सीमा क्षेत्रमा पछिल्लो समय अवैध रकम ओसारपसारका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी थप कडाइ गरेको जनाएको छ।