पर्सा पोस्ट , माघ ०१ गते , वीरगञ्ज।
स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार–२०८२ वरिष्ठ पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का वरिष्ठ उपाध्यक्ष तथा नारायणी एफएमका अध्यक्षसमेत रहेका देवकोटालाई नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस वर्षको पुरस्कारका लागि चयन गरेको हो।
नेपाल पत्रकार महासंघ पर्सा शाखाद्वारा बिहीबार आयोजित पुरस्कार वितरण समारोहमा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो।
सो अवसरमा मन्त्री पटेलले वीरगञ्जको पत्रकारिता क्षेत्रमा गोविन्द देवकोटाले निर्वाह गर्दै आएको भूमिका उल्लेखनीय रहेको बताउँदै उहाँले निष्पक्ष, निष्ठावान् र उत्तरदायी पत्रकारितामार्फत पृथक पहिचान बनाएको धारणा व्यक्त गर्नुभयो। पत्रकारितामा व्यवस्थित प्रशिक्षणको आवश्यकता औँल्याउँदै मन्त्री पटेलले पछिल्लो समय राजनीतिक दलहरू खुलेझैँ मिडियाको संख्या पनि तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्नुभयो।
“मिडिया समाजको ऐना हो। मिडिया खुल्नु सकारात्मक पक्ष हो तर के समाचार सम्प्रेषण गर्ने, के नगर्ने भन्ने मापदण्ड कमजोर देखिएको छ,” मन्त्री पटेलले भन्नुभयो, “विशेषगरी मधेसमा पत्रकारहरूका लागि व्यवस्थित र व्यावसायिक प्रशिक्षण आवश्यक छ।” उहाँले मधेसको मिडिया क्षेत्रलाई गुणस्तरीय र बलियो बनाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, कोषाध्यक्ष रामकृष्ण अधिकारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायत वक्ताहरूले स्वर्गीय गोपाल गिरीले पत्रकारिता र राजनीतिक क्षेत्रमा पुर्याएको योगदान स्मरणयोग्य रहेको बताए। सहभागी वक्ताहरूले सञ्चारजगतले पालना गर्नुपर्ने न्यूनतम व्यावसायिक मापदण्डको कार्यान्वयन अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।
पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार गोविन्द देवकोटाले यो सम्मानले समाजप्रतिको आफ्नो जिम्मेवारी अझ बढाएको बताउनुभयो।
“करिब तीन दशकदेखि समाजका आवाज उठाउँदै पत्रकारिता गर्दै आएको छु। यो पुरस्कारले अझ जिम्मेवार भएर कलम चलाउन प्रेरणा दिएको छ,” उहाँले भन्नुभयो।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय गोपाल गिरीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
पर्सा जिल्लाका पूर्व मेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार पत्रकारितामा दीर्घकालीन योगदान पुर्याउने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ। स्वर्गीय गिरीको २०६० साल माघ १ गते वीरगञ्जमा तत्कालीन माओवादीद्वारा हत्या गरिएको थियो।