पर्सा पोस्ट, मंसिर २४ गते, बिरगंज ।
नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यो सम्झौता २०८२ साल मंसिर २४ गते (डिसेम्बर १०, २०२५) का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा आयोजित समारोहबीच हुँदै औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
सम्झौताअनुसार एनआई कलेजका बोर्ड सदस्य, कर्मचारी, खेलाडी तथा उनीहरूको प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजमार्फत विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक, वेलनेस प्याकेज लगायत अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।
सम्झौतामा ओपीडी सेवा, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया सेवा, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष सुविधा प्रदान गरिने उल्लेख गरिएको छ।
उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी र नेशनल इन्फोटेक कलेजका तर्फबाट प्रिन्सिपल इञ्जिनियर मनीष सिंहले हस्ताक्षर गर्नुभएको हो। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने छ।
दुवै संस्थाबीच भएको यो सहकार्यले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।