डाबर नेपालको कमसल मह प्रकरण : पहिले ‘ कमिला – किरा ‘, अहिले सरकारी परिक्षणमै ‘फेल’- उपभोक्तामाथी गम्भीर खेलबाड

Date:

पर्सा पोस्ट, जेष्ठ ०७ गते, बारा ।
बाराको नितनपुरमा रहेको बहुराष्ट्रिय कम्पनी Dabur Nepal ले उत्पादन गर्ने चर्चित उत्पादन ‘डाबर हनी’ (मह) सरकारी परीक्षणमै न्यून गुणस्तरको भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको भए पनि कम्पनीले सरकारी आदेशको ठाडो उल्लङ्घन गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त मह मानव उपभोगका लागि अयोग्य रहेको निष्कर्षसहित बिक्री वितरण रोक्न आदेश दिए पनि सोही ब्याचका उत्पादन अहिले पनि देशभरका डिपार्टमेन्टल स्टोर, Bhatbhateni Supermarket, मार्ट तथा किराना पसलहरूमा निर्बाध रूपमा बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ।

 

विभागले बजारबाट संकलन गरेका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा डाबर हनीको गुणस्तर तोकिएको मापदण्डभन्दा निकै कम रहेको जनाएको थियो। परीक्षणमा कैफियत देखिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त ब्याच नम्बरका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा अर्को सूचना नभएसम्म बिक्रीमा पूर्ण रोक लगाउन विभागले कम्पनीलाई निर्देशन दिएको थियो। तर कम्पनीले बजारबाट उत्पादन उठाउनेतर्फ कुनै चासो नदेखाएको आरोप लागेको छ।

@ पुरानो उजुरी फेरि चर्चामा:
यो पहिलो पटक भने होइन। यसअघि २०८२ मंसिर २९ गते Jitpur Simara Sub-Metropolitan City वडा नं. २३ लिपनीमालमा रहेको डाबर नेपालको उत्पादन “डाबर हनी” को ब्याच नं. ००४२१, उत्पादन मिति १२/२४ उल्लेख भएको २५० ग्रामको सिलप्याक महभित्र कमिला र किरा फेला परेको भन्दै नियमनकारी निकायमा उजुरी परेको थियो।

उक्त घटनामा उपभोक्ता अधिकारकर्मी तथा उजुरीकर्ताले प्रमाणसहित जानकारी गराएपछि अनुगमन टोली डाबर नेपाल पुगेको थियो। तर अनुगमन टोलीलाई करिब आधा घण्टासम्म गेटमै रोकिएको, विवादित ब्याचको नमुना उपलब्ध नगराइएको तथा “सबै उत्पादन बजारमा गइसकेको” भन्ने जवाफ दिइएको आरोप लागेको थियो।

त्यतिबेला उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले राष्ट्रिय दैनिकसँग प्रतिक्रिया दिँदै अनुगमन प्रक्रिया नै शंकास्पद बनेको बताएका थिए। दोषीलाई उन्मुक्ति दिने ढंगले अनुगमन भएको आरोपसमेत उनले लगाएका थिए।

आज सरकारी प्रयोगशालाबाटै डाबर नेपालको मह न्यून गुणस्तरको प्रमाणित भएपछि त्यतिबेलाको उजुरी र आरोपहरू पुनः चर्चामा आएका छन्। उपभोक्ताहरूले “ढिलो भए पनि डाबर नेपालको ठगीपूर्ण प्रवृत्ति उजागर भएको” प्रतिक्रिया दिन थालेका छन्।

म्याग्नेसियम ग्लाइसिनेट प्रयोगमा पनि चेतावनी
यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याग्नेसियम ग्लाइसिनेट (Magnesium Glycinate) मिसावट भएका वा प्रयोग गरिएका खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ। विभागका अनुसार यस्ता प्रतिबन्धित वा न्यून गुणस्तरका खाद्य पदार्थ बजारमा बिक्री गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कडा कानुनी कारबाही र जरिबाना गरिनेछ।

व्यावसायिक रूपमा उत्पादन गरिने कमसल महमा प्रायः चिनीको चास्नी (Sugar Syrup), कृत्रिम रङ तथा विभिन्न रसायन मिसावट गरिने विज्ञहरूको भनाइ छ। डाबर जस्तो स्थापित ब्रान्डको उत्पादनमै यस्तो समस्या देखिनुले उपभोक्तामा गम्भीर चिन्ता थपिएको छ।

कमसल मह सेवन गर्दा स्वास्थ्यमा कस्ता असर पर्न सक्छन् ?
स्वास्थ्य विज्ञहरूका अनुसार मिसावटयुक्त वा कमसल महको नियमित सेवनले रगतमा चिनीको मात्रा अस्वाभाविक रूपमा बढाउन सक्छ। यसले मधुमेह, मोटोपन, कलेजो तथा मिर्गौलामा दीर्घकालीन असर पार्ने जोखिम बढाउँछ।
त्यस्तै, प्रयोगशालामा मापदण्ड फेल भएका महमा हानिकारक ब्याक्टेरिया वा ढुसी (Molds) को संक्रमण हुने सम्भावना पनि उच्च रहने बताइन्छ। यस्तो मह सेवन गर्दा पेट दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने तथा फुड पोइजनिङ हुने जोखिम रहन्छ।

बालबालिकामा यस्तो महको सेवनले एलर्जी, दम (Asthma) तथा शारीरिक विकासमा समेत असर पार्न सक्ने चिकित्सकहरूको चेतावनी छ।

@ नियमनकारी निकायमाथि पनि प्रश्न:
सरकारी प्रयोगशालाले उत्पादनलाई न्यून गुणस्तरको घोषणा गरिसक्दा पनि बजारमा खुलेआम बिक्री भइरहनु नियमनकारी निकायको प्रभावकारितामाथि प्रश्न उठेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ। विभागले कागजी निर्देशन दिए पनि प्रभावकारी बजार अनुगमन तथा जफत प्रक्रिया कमजोर बनाउँदा कम्पनीले उन्मुक्ति पाइरहेको आरोप लगाइएको छ।

आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महजस्तो संवेदनशील खाद्य पदार्थमा भएको यस्तो खेलबाडमाथि तत्काल कडा बजार अनुगमन, दोषी उत्पादन जफत तथा सम्बन्धित कम्पनीमाथि कानुनी कारबाही गर्न उपभोक्ताहरूले माग गरेका छन्।

अब हेर्न बाँकी छ—सरकारी निर्देशनपछि Dabur Nepal ले बजारबाट गुणस्तरहीन उत्पादन फिर्ता गर्छ कि फेरि अटेरी नै जारी राख्छ। समयले त्यसको जवाफ दिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...