पर्सा पोस्ट , जेष्ठ ०६ गते , रक्सौल, पूर्वी चम्पारण ।
जीवनलाई एक प्रवाहसँग तुलना गर्दै सामाजिक अभियन्ता बिमल सर्राफले सही दिशा र मार्गदर्शन पाए मानिसले समाज परिवर्तनसम्मको भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।
लायन्स क्लब अफ रक्सौलका अध्यक्षसँग मिडिया प्रभारी, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारीसमेत रहेका सर्राफले प्रेससँग कुरा गर्दै जीवनमा गुरु, प्रतिभा र सकारात्मक सोचको महत्त्वबारे आफ्ना विचार व्यक्त गरेका हुन्।
उनले जीवनमा ऊर्जा, गति र क्षमता भए पनि उचित निर्देशनको अभावमा धेरै मानिस आफ्नो सम्भावनाभित्रै सीमित हुने बताए। “जीवन नदीजस्तै हो, सही दिशा पाए झरना बन्न सक्छ, अन्यथा स्थिर नालीजस्तो भएर समाजमा दुर्गन्ध र समस्याको कारण बन्न सक्छ,” उनले भने।
सर्राफका अनुसार प्रत्येक व्यक्तिको जीवनमा साँचो गुरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। गुरु वा मार्गदर्शकले व्यक्तिको भित्र लुकेको ऊर्जा, प्रतिभा र क्षमतालाई सही दिशामा प्रयोग गर्न सिकाउने भएकाले समाज निर्माणमा उनीहरूको योगदान उल्लेखनीय रहने उनले बताए।
उनले आगामी समय प्रतिभा खोज्ने, पहिचान गर्ने र निखार्ने समय भएको उल्लेख गर्दै केवल धनले मात्र व्यक्तित्व निर्माण नहुने धारणा राखे। “धन संयोगले प्राप्त हुन सक्छ, तर प्रतिभा व्यक्तिको आफ्नै क्षमता र मेहनतको परिणाम हो,” उनले बताए।
उनले समाज परिवर्तनका लागि विद्वान, कलाकार, सिर्जनाकर्ता, समाजसेवी, उद्यमी तथा जनकल्याणकारी सोच भएका राजनीतिज्ञहरूको आवश्यकता रहेको उल्लेख गरे। तर्कसंगत सोच विकास गर्ने विद्वान, जनभावना बुझ्ने कलाकार तथा सार्वजनिक हितमा सम्पत्ति प्रयोग गर्ने धनी वर्गले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।
सर्राफले समयसँगै यस्ता प्रतिभाशाली व्यक्तिहरू समाजमा उदाउने विश्वास व्यक्त गर्दै वर्षायाममा बाली फस्टाएझैँ सकारात्मक सोच र क्षमतायुक्त व्यक्तिहरूले समाजलाई नयाँ दिशा दिने बताए।