दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउदै ” घरदैलोमा डाक्टर ” अभियान , २५० जनाले पाए नि:सुल्क उपचार सेवा

Date:

पर्सा पोस्ट, बैशाख २६ गते, पर्सागढी ।
पर्सागढी नगरपालिकाको बढनियार क्षेत्रमा सञ्चालन गरिएको “घरदैलोमा डाक्टर” कार्यक्रमको दोस्रो सातासमेत प्रभावकारी रूपमा सम्पन्न भएको छ। स्वास्थ्य पहुँचबाट टाढा रहेका गरिब, विपन्न तथा अस्पतालसम्म पुग्न नसक्ने बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासी लाभान्वित भएका छन्।

प्रभु हस्पिटलको सहकार्य तथा जुनतारा बचत सहकारी संस्था को आयोजनामा सम्पन्न शिविरमा १९० जना महिला र ६० जना पुरुष गरी जम्मा २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा सुगर किटमार्फत मधुमेह परीक्षण, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरणसमेत गरिएको आयोजकले जनाएको छ।

स्थानीय सामाजिक अभियन्ता बलिराम शुक्लाको समन्वय तथा जुनतारा सहकारीकी अध्यक्ष मञ्जु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभु हस्पिटलकी सञ्चालिका एवं स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै वरिष्ठ फिजिसियन डा. रवि रन्जन साह ले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. लक्ष्मी थापा गुप्ताले स्वास्थ्य सेवा शहर र अस्पतालभित्र सीमित हुन नहुने बताउँदै दुर्गम तथा पिछडिएका क्षेत्रमा रहेका नागरिकसम्म सेवा पुर्‍याउनु नै “घरदैलोमा डाक्टर” अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले स्वास्थ्य पहुँच नभएका विकट ठाउँमा घर–घरमै पुगेर उपचार तथा परामर्श दिने कार्यक्रम निकै प्रभावकारी बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

उहाँले दीर्घरोगी, जेष्ठ नागरिक तथा महिला स्वास्थ्यसम्बन्धी गम्भीर समस्या भएका बिरामीलाई थप उपचार तथा सहुलियत सेवासमेत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम प्रमुख दिलिपराज कार्कीले अस्पताल केवल व्यवसायिक संस्था मात्र नभई सेवामुखी सामाजिक उत्तरदायित्व वहन गर्ने संस्था पनि भएको बताउँदै जनतासँग प्रत्यक्ष हातेमालो गर्दै गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्‍याउने अभियानलाई निरन्तर अगाडि बढाइने बताउनुभयो।

त्यसैगरी पत्रकार तथा सामाजिक अभियन्ता बलिराम शुक्लाले यस्ता कार्यक्रमले वास्तविक रूपमा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई राहत पुगेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमकी अध्यक्ष मञ्जु क्षेत्रीले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने अभियानमा सहकारी संस्थाले आवश्यक समन्वय र सहयोग जारी राख्ने बताउनुभयो।

स्थानीयवासीले घरमै चिकित्सक पुगेर स्वास्थ्य परीक्षण, औषधि तथा परामर्श पाउँदा खुशी व्यक्त गरेका छन्। ग्रामीण तथा विकट क्षेत्रका नागरिकका लागि “घरदैलोमा डाक्टर” अभियान प्रभावकारी र उदाहरणीय कार्यक्रमका रूपमा स्थापित हुँदै गएको सहभागीहरूको भनाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...