चाडबाडको मौका छोपेर म्याद गुज्रिएका खाद्य सामग्रीमा नक्कली स्टिकर, दुई व्यापारी पक्राउ

Date:

पर्सा पोस्ट , असोज १७ गते , वीरगञ्ज ।
चाडबाडको मौका छोपेर म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्री–वितरण गर्ने गरेको आरोपमा प्रहरीले पर्सा र बाराका दुई व्यापारीलाई काठमाडौंमा पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा सञ्चालित सिद्धिविनायक खाद्य स्टोरमा जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२, बहुअर्वाभाठाका अखिलेशप्रसाद गुप्ता र बाराको प्रसौनी गाउँपालिका–१ का विजेन्द्र साह रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार म्याद गुज्रिएका खाद्य सामग्रीमा नक्कली स्टिकर लगाएर बिक्री–वितरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

गुणस्तरहीन खाद्य सामग्री बिक्री भइरहेको गोप्य सूचनाका आधारमा स्टोरमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्य सामग्रीसँगै नक्कली स्टिकर टाँस्ने तथा मिति परिवर्तन गर्ने उपकरणसमेत फेला परेको प्रहरीले जनाएको छ।

अनुगमनका क्रममा प्रहरीले मिति उल्लेख गर्ने मेसिन एक थान, ल्यापटप तथा प्रिन्टर एक थान, बोरा सिलाउने मेसिन एक थान, म्याद गुज्रिएका काजु एक बाल्टी, पिस्ता र आल्मन्ड एक–एक कार्टुन, कालो भटमास चार बोरा, मकै दुई बोरा र हरियो केराउ एक बोरा बरामद गरेको छ।

त्यस्तै, गोदाममा छापा मार्दा नक्कली लेबलिङ स्टिकर लगाएर बिक्रीका लागि तयार पारिएका मकैपट्टि, राज्मा, अबिर/केशरी, ब्राजिलियन पपकर्न, लोकल खैरो तिल, ओखर र केराउलगायत खाद्य सामग्रीका स्टिकरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

# चाडबाडमा उपभोक्ता थप सचेत हुनुपर्ने:
दशैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिँदै जाँदा बजारमा खाद्य सामग्रीको खरिद–बिक्री बढ्ने भएकाले म्याद गुज्रिएका, गुणस्तरहीन तथा लेबलविहीन सामग्री बजारमा खपत गराउने जोखिमसमेत बढ्ने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ।
चाडबाडका बेला बजारमा उपभोक्ताको चाप र भिडभाड बढ्ने भएकाले केही व्यवसायीले यही अवसरको दुरुपयोग गरी म्याद गुज्रिएका वा गुणस्तरमा शंका लाग्ने खाद्य सामग्रीमा नयाँ मिति वा नक्कली लेबल राखेर बजारमा पठाउन सक्ने भएकाले उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने उनीहरूको आग्रह छ।

उपभोक्ता अधिकारकर्मीहरूले खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर, लेबल, उत्पादकको नाम तथा ठेगाना र आवश्यक विवरण स्पष्ट भए–नभएको जाँच गर्न आग्रह गरेका छन्। विशेषगरी म्याद मेटिएको, केरमेट गरिएको, पुनःस्टिकर टाँसिएको वा लेबल नै नभएको खाद्य सामग्री खरिद नगर्न उनीहरूले सुझाव दिएका छन्।

त्यस्तै, नियमनकारी निकायले पनि चाडबाड लक्षित विशेष बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ। बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्ने, गलत वा भ्रामक लेबल प्रयोग गर्ने, दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने तथा खाद्य सुरक्षा मापदण्ड पालना नगर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ।

उपभोक्ता अधिकारकर्मीहरूका अनुसार चाडबाडको समयमा गरिने अनुगमन औपचारिकतामा मात्र सीमित नभई गोदाम, थोक तथा खुद्रा पसलसम्म केन्द्रित हुनुपर्छ। विशेषगरी खाद्य सामग्रीको मिति परिवर्तन गर्न प्रयोग हुने उपकरण, नक्कली लेबल तथा स्टिकरको प्रयोग र म्याद गुज्रिएका वस्तुको भण्डारण तथा बिक्री–वितरणमाथि निगरानी बढाउनुपर्ने उनीहरूको आग्रह छ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य वस्तुको विषयमा लापरबाही गर्ने व्यवसायीलाई सामान्य जरिवानामा मात्र सीमित नगरी प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गर्न सके मात्रै बजारमा गुणस्तरीय र सुरक्षित खाद्य सामग्रीको बिक्री सुनिश्चित गर्न सकिने अधिकारकर्मीहरूको भनाइ छ।

यस घटनाले चाडबाडको समयमा बजारमा हुने खाद्य सामग्रीको कारोबारमाथि प्रभावकारी निगरानी आवश्यक रहेको देखाएको छ। उपभोक्ता, व्यवसायी र नियमनकारी निकाय सबै सचेत र जिम्मेवार बने मात्रै म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीको कारोबार नियन्त्रण गर्न सकिने देखिन्छ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...