छपकैयाको व्यवस्थित थोक बजारमा जान वीरगंज महानगरको २१ दिने अल्टिमेटम, सडकमा थोक कारोबार गर्न रोक

Date:

पर्सा पोस्ट, कार्तिक १३ गते, वीरगंज ।
वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका तरकारी तथा फलफूलका थोक बजारलाई व्यवस्थित गर्न कडा कदम चालेको छ। महानगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर थोक कारोबार गर्दै आएका व्यवसायीलाई २१ दिनभित्र वडा नम्बर २ छपकैयास्थित निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।


महानगरपालिकाले कार्तिक १२ गते बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्र सडक, चोक तथा सार्वजनिक स्थानमा जथाभावी रूपमा तरकारी तथा फलफूलको थोक कारोबार सञ्चालन नगर्न निर्देशन दिएको हो। सूचनामार्फत सबै थोक व्यवसायीलाई तोकिएको स्थानमा अनिवार्य रूपमा कारोबार सञ्चालन गर्न आग्रह गरिएको छ।
महानगरपालिकाका अनुसार छपकैयामा थोक बजार सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनको तयारी गरिसकिएको छ। विभिन्न स्थानमा अव्यवस्थित रूपमा थोक कारोबार हुँदा सडकमा सवारीसाधनको चाप बढ्ने, यातायात आवागमन प्रभावित हुने, बजार क्षेत्रमा भीडभाड सिर्जना हुने तथा सर्वसाधारण र उपभोक्तालाई आवतजावतमा कठिनाइ हुने समस्या देखिएकाले थोक बजारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको हो।

प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनाअनुसार व्यवसायीले तोकिएको समयसीमाभित्र छपकैयास्थित निर्धारित थोक बजारमा आफ्नो कारोबार स्थानान्तरण गरिसक्नुपर्नेछ। निर्धारित स्थानबाहेक अन्यत्र जथाभावी रूपमा थोक बजार सञ्चालन गर्ने तथा बजार लगाउने कार्यमा समेत महानगरपालिकाले रोक लगाएको छ।

महानगरपालिकाले दिएको समयसीमाभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ। निर्धारित समयभित्र बजार नसार्दा उत्पन्न हुन सक्ने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायी स्वयंले लिनुपर्ने सूचनामा उल्लेख छ।

महानगरपालिकाको यो निर्णय कार्यान्वयनमा आएपछि वीरगंजका मुख्य सडक, चोक तथा सार्वजनिक स्थानमा बिहानैदेखि हुने थोक तरकारी तथा फलफूलको किनबेचबाट सिर्जना हुने भीडभाड र यातायात अवरोध कम हुने अपेक्षा गरिएको छ।

वीरगंजलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, सडक व्यवस्थापन र बजारलाई व्यवस्थित बनाउने उद्देश्यले यो कदम चालिएको महानगरपालिकाले जनाएको छ।

अब महानगरपालिकाले तोकेको समयसीमाभित्र व्यवसायीहरू नयाँ थोक बजारमा स्थानान्तरण हुन्छन् वा हुँदैनन् भन्ने विषयले बजार व्यवस्थापन अभियानको प्रभावकारिता निर्धारण गर्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिएका छौँ, इन्डिया कार्ड र चाइना कार्डमा विश्वास गर्दैनौँ : सांसद हरि पन्त

पर्सा पोस्ट, कार्तिक १६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...