पर्सा पोस्ट, कार्तिक ११ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकर्ता भेटघाट तथा स्थानीय जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गरी उनीहरूका समस्या, गुनासा तथा विकाससम्बन्धी मागहरू सुन्ने र समाधानका विषयमा छलफल गर्ने काम गरिएको छ।

रास्वपा वडा नम्बर २ का बुथ सभापति सम्साद आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला सभापति एवं पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक तेज सम्शेर जबरा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा स्थानीय बासिन्दाहरूले छपकैया क्षेत्रका विभिन्न सार्वजनिक, भौतिक पूर्वाधार तथा सामाजिक समस्याहरू सांसद पन्तसमक्ष राखेका थिए। स्थानीयले छपकैया पोखरीको अतिक्रमण हटाई त्यसलाई सार्वजनिक पोखरीका रूपमा संरक्षण गर्नुपर्ने, छठघाट व्यवस्थित बनाउनुपर्ने र मुस्लिम समुदायले नमाज पढ्ने ईदगाह क्षेत्रमा उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए।

त्यसैगरी, विवाहलगायत सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न धर्मशाला निर्माण गर्नुपर्ने, फोहोर व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने, खुला नालामाथि ढक्कन राख्नुपर्ने तथा खानेपानी र विद्युत् आपूर्ति नियमित गर्नुपर्ने विषयमा स्थानीयले ध्यानाकर्षण गराएका थिए।
स्थानीयले सडक तथा नाला निर्माणलाई प्राथमिकता दिनुपर्ने, लागूऔषध दुर्व्यसन नियन्त्रण गर्नुपर्ने, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनुपर्ने मागसमेत राखेका थिए। अस्पतालमा अत्यधिक भीडभाड हुने भएकाले सेवाग्राहीलाई लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै लाइन व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहलाई सरल तथा सुविधाजनक बनाउनुपर्ने विषय पनि उठाइएको थियो।
स्थानीयका गुनासा तथा मागहरू सुनेपछि सांसद हरि पन्तले ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले स्थानीय जनताका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि जनप्रतिनिधि र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए।
सांसद पन्तले केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार रहे पनि प्रदेश र स्थानीय तहमा पार्टीको सरकार नरहेको उल्लेख गर्दै जनताका अपेक्षाअनुसार काम गर्न सबै तहमा रास्वपाको जित सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए। आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहमा समेत रास्वपाको नेतृत्व स्थापित भए जनताका समस्या समाधान गर्न थप सहज हुने उनको भनाइ थियो।
उनले छपकैया क्षेत्रका स्थानीयले उठाएका पोखरी संरक्षण, छठघाट व्यवस्थापन, धर्मशाला निर्माण, खानेपानी, सडक, नाला, सरसफाइ, रोजगारी तथा स्वास्थ्य सेवासम्बन्धी समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यकर्ता भेटघाट तथा जनतासँग प्रत्यक्ष संवाद कार्यक्रमले स्थानीय बासिन्दालाई आफ्ना समस्या र गुनासा जनप्रतिनिधिसमक्ष राख्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।