मापदण्डविपरीत सञ्चालित तीन बेकरी उद्योगको उत्पादन रोक्का, सुधारपछि मात्रै सञ्चालन अनुमति

Date:

पर्सा पोस्ट, असोज १३ गते, वीरगञ्ज ।

तनहुँको आँबुखैरेनी गाउँपालिकामा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डविपरीत सञ्चालन भइरहेका तीनवटा बेकरी उद्योगको उत्पादन तत्कालका लागि रोक्का गरिएको छ। संयुक्त बजार अनुगमन टोलीले उद्योगहरूको निरीक्षण गर्दा खाद्य स्वच्छता, सरसफाइ, कच्चा पदार्थको भण्डारण तथा उद्योग दर्तासम्बन्धी विभिन्न कमजोरी फेला पारेपछि उत्पादन रोक्का गर्ने निर्णय गरेको हो।

आँबुखैरेनी गाउँपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, उद्योग वाणिज्य संघ आँबुखैरेनी, इलाका प्रहरी कार्यालय र होटल व्यवसायी संघका प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले गरेको अनुगमनका क्रममा तीनवटै बेकरी उद्योगमा खाद्य उत्पादनसम्बन्धी मापदण्ड पालना नभएको पाइएको थियो।

अनुगमनका क्रममा बेकरीका परिकार तयार गर्न काठको प्लाइउडमा पिठो मुछ्ने तथा डो बेल्ने गरिएको, उद्योग परिसरको सरसफाइमा पर्याप्त ध्यान नदिइएको र म्याद नाघेका सामग्री फिर्ता ल्याएपछि व्यवस्थित रूपमा भण्डारण नगरेको पाइएको थियो। त्यस्तै, उद्योगको दर्ता तथा नवीकरणसमेत अद्यावधिक नगरेको भेटिएको अनुगमन टोलीले जनाएको छ।

खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमा अनिवार्य रूपमा पालना गर्नुपर्ने स्वच्छता तथा गुणस्तरका मापदण्ड उल्लंघन भएको पाइएपछि टोलीले तीनवटै उद्योगको उत्पादन तत्काल रोक्का गरेको हो। साथै, उद्योग सञ्चालकहरूलाई खाद्य उत्पादनको स्वच्छता र गुणस्तर कायम गर्न आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

टोलीले बेकरीमा डो बेल्न तथा अन्य खाद्य सामग्री तयार गर्न काठको प्लाइउडको सट्टा मार्बल वा स्टेनलेस स्टिलका टेबल प्रयोग गर्न, उद्योग परिसरको सरसफाइ तथा रंगरोगन गर्न र प्रशोधन कक्ष तथा भाँडावर्तन सफा राख्न निर्देशन दिएको छ। त्यसैगरी, मैदालगायत कच्चा पदार्थको सुरक्षित तथा व्यवस्थित भण्डारण गर्न र उद्योगको दर्ता तथा नवीकरण समयमै अद्यावधिक गर्नसमेत भनिएको छ।

खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तीनवटै उद्योगको उत्पादन रोक्का गरिएको हो। उद्योग सञ्चालकहरूले तोकिएका मापदण्डअनुसार आवश्यक सुधार गरी गाउँपालिका वा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलाई जानकारी गराएपछि पुनः अनुगमन गरिने उनले बताइन्।

पुनः अनुगमनका क्रममा उद्योगहरूले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पूरा गरेको पाइएमा मात्रै उत्पादन सञ्चालनको अनुमति दिइने आचार्यले स्पष्ट पारिन्।

खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरूमा सरसफाइ, सुरक्षित प्रशोधन, गुणस्तरीय कच्चा पदार्थको प्रयोग तथा उचित भण्डारण उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन्। त्यसैले यस्ता उद्योगको नियमित अनुगमन र मापदण्डको प्रभावकारी कार्यान्वयनले उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...