क्रियाशील युवा पत्रकार मञ्चमा १० पत्रकार आबद्ध, तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामा जोड

Date:

पर्सा पोस्ट, असोज ११ गते, वीरगञ्ज ।
क्रियाशील युवा पत्रकार मञ्च नेपालमा १० जना पत्रकार औपचारिक रूपमा आबद्ध भएका छन्। वीरगञ्जस्थित क्लासिक बैंक्वेट होटलमा आयोजित एक कार्यक्रमबीच नवआबद्ध पत्रकारहरूलाई प्रमाणपत्र, टीका तथा गम्छा प्रदान गर्दै स्वागत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले पत्रकारिता समाजको ऐना भएकाले पत्रकारहरूले सत्य, तथ्य र निष्पक्षतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नभई समाजमा रहेका विकृति, विसङ्गति र अन्यायविरुद्ध आवाज उठाउने सशक्त माध्यम भएको उल्लेख गर्दै खोजमूलक, जिम्मेवार र जनउत्तरदायी पत्रकारिता गर्न आग्रह गरे।

उनले पत्रकारितामा प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएको सन्दर्भमा पत्रकारहरूलाई सचेत रहन सुझाव दिए। एआईको प्रयोगले समाचार संकलन र लेखनमा सहजता ल्याए पनि त्यसैमा पूर्ण निर्भर हुन नहुने भन्दै समाचार तयार गर्नुअघि तथ्यको सत्यापन गर्नुपर्नेमा उनले जोड दिए। पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जरासहित मधेस प्रदेश तथा पर्साका विभिन्न पत्रकार संगठनका नेतृत्वकर्ताहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीबारे चर्चा गरेका थिए। उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई झुटा मुद्दा लगाउने, दुःख दिने तथा पत्रकारहरूले पाउँदै आएका सुविधासमेत कटौती गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षण आवश्यक रहेको बताए।

कार्यक्रममा वक्ताहरूले क्रियाशील युवा पत्रकार मञ्च नेपालले छोटो समयमै आफ्नो सदस्य संख्या विस्तार गर्दै पत्रकारहरूको साझा संस्थाका रूपमा अघि बढिरहेको भन्दै प्रशंसा गरेका थिए। मञ्चको सदस्य संख्या बढेसँगै जिम्मेवारीसमेत थपिएको उल्लेख गर्दै अन्यायमा परेका व्यक्ति, आवाजविहीन समुदाय तथा समाजका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउन मञ्चले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरूले जोड दिए।

पत्रकारिता क्षेत्रलाई थप मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन पत्रकारहरूबीच एकता र सहकार्य आवश्यक रहेको वक्ताहरूको भनाइ थियो। उनीहरूले पत्रकारिता आचारसंहिताको पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै मञ्चको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य अजय साह, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, पर्सा अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष मनोज पटेल, पर्सा अध्यक्ष शम्भु कुमार सुमन, मञ्चका सल्लाहकार प्रतापबहादुर श्रेष्ठ, समाजसेवी प्रकाश उपाध्याय, प्रेस युनियन पर्साका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी प्याब्सन पर्साका उपाध्यक्ष सुशिला साह, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिब अमित आलोक, कमल चौगाईलगायतले मञ्चले पत्रकारिता क्षेत्रमा गर्दै आएको गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय भएर काम गर्न सुझाव दिएका थिए।

कार्यक्रममा पत्रकारहरूले राज्यबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भइरहेको भन्दै स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए। समाचार लेखेकै आधारमा पत्रकारलाई मुद्दा लगाउने, दुःख दिने तथा पत्रकारहरूले प्राप्त गर्दै आएका सुविधामा कटौती गर्ने कार्यले स्वतन्त्र पत्रकारितामा असर पर्न सक्ने उनीहरूको भनाइ थियो।

कार्यक्रम संस्थाका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मञ्चका उपाध्यक्ष वीरेन्द्र साहले स्वागत मन्तव्य राखेका थिए भने महासचिव राकेश कुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए।

नवआबद्ध पत्रकारहरूलाई स्वागत गर्दै मञ्चले आगामी दिनमा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारबीच एकता र सहकार्य तथा समाजका विभिन्न समस्यालाई उजागर गर्ने कार्यलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउँदै सत्यतथ्य समाचारमार्फत आम नागरिकको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यसहित मञ्चले आफ्नो गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...