एम्बुलेन्स चालकलाई BLS तालिम, आकस्मिक स्वास्थ्य सेवामा दक्षता बढाउने लक्ष्य

Date:

पर्सा पोस्ट, भदौ २ गते, वीरगञ्ज ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा एम्बुलेन्स चालकहरूको आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आधारभूत जीवनरक्षा (Basic Life Support–BLS) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।

GTA Foundation को सहकार्यमा मंगलबार बिहान ९ः३० बजेदेखि १२ः३० बजेसम्म नेशनल मेडिकल कलेजको सभाहलमा सञ्चालन भएको तालिममा ३४ जना एम्बुलेन्स चालकको सक्रिय सहभागिता रहेको थियो।

अस्पताल पुग्नुअघि नै बिरामीको जीवनरक्षा गर्नुपर्ने अवस्थामा एम्बुलेन्स चालकको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूलाई आकस्मिक अवस्थामा तत्काल अपनाउनुपर्ने जीवनरक्षासम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको हो। तालिममा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (CPR), प्राथमिक उपचार तथा अन्य आधारभूत जीवनरक्षा प्रविधिबारे प्रशिक्षण दिइएको थियो।

यो तालिम GTA Foundation ले सञ्चालन गरिरहेको ‘नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता’ सम्बन्धी अध्ययनअन्तर्गत आयोजना गरिएको हो। अध्ययनमार्फत एम्बुलेन्स चालकहरूको BLS सम्बन्धी ज्ञान, दक्षता र व्यवहारिक सीपमा सुधार ल्याई अस्पताल पुग्नुअघिको आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता बढाउने लक्ष्य राखिएको छ।

कार्यक्रममा GTA Foundation का तर्फबाट इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक ललिता अवाल, अनुसन्धान सहायक रुबी श्रेष्ठ र ललिता कुँवर सहभागी थिए। नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।

तालिममा GTA Foundation का प्रशिक्षकहरूसँगै नेशनल मेडिकल कलेजबाट BLS–ToT (Basic Life Support–Training of Trainers) सफलतापूर्वक सम्पन्न गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईंले समेत सहजीकरण तथा प्रशिक्षण दिएका थिए।

तालिमका क्रममा सहभागी चालकहरूलाई आकस्मिक अवस्थामा बिरामीको अवस्था पहिचान गर्ने, प्रारम्भिक मूल्याङ्कन गर्ने, आवश्यक परे CPR सुरु गर्ने, प्राथमिक उपचार उपलब्ध गराउने तथा बिरामीलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउने प्रक्रियाबारे व्यवहारिक अभ्यास गराइएको थियो। तालिम सफलतापूर्वक सम्पन्न गर्ने सबै सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
विशेषगरी हृदयघात, श्वासप्रश्वासमा समस्या, बेहोस हुने अवस्था, दुर्घटना तथा अन्य आकस्मिक घटनामा अस्पताल पुग्नुअघि गरिने प्रारम्भिक उपचारले बिरामीको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्न सक्छ। यस्तो अवस्थामा एम्बुलेन्स चालक नै बिरामीसँग सबैभन्दा पहिले र प्रत्यक्ष सम्पर्कमा रहने स्वास्थ्य सेवाका महत्वपूर्ण जनशक्तिमध्ये एक हुने भएकाले उनीहरूको दक्षता बढाउनु आवश्यक रहेको आयोजकको भनाइ छ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले एम्बुलेन्स चालकहरूको क्षमता अभिवृद्धिलाई आकस्मिक स्वास्थ्य सेवाको महत्वपूर्ण पाटोका रूपमा लिँदै व्यावहारिक तथा सीपमूलक तालिमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

GTA Foundation र नेशनल मेडिकल कलेजबीचको सहकार्यमा सम्पन्न यस तालिमले एम्बुलेन्स चालकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै अस्पताल पुग्नुअघिको आकस्मिक स्वास्थ्य सेवा थप व्यवस्थित, प्रभावकारी र जीवनरक्षामुखी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...