चकलेटको प्रलोभन देखाएर ३ वर्षीया बालिकाको हत्या गरेको आशंका, दुई जना पक्राउ

Date:

पर्सा पोस्ट, भदौ ३ गते, कलैया ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार भदौ २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थललाई सुरक्षित राख्दै जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप अनुसन्धान टोली परिचालन गरिएको थियो।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालय पर्सा, वीरगञ्जबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ। बालिका साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जितपुरसिमरा–२ का करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर घटनास्थलतर्फ लगेको र त्यसपछि यौन दुर्व्यवहार गरी हत्या गरेको आशंका गरिएको छ। घटनाको वास्तविक कारण तथा संलग्नताको विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएको भनिएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापा र उक्त म्याजिकका धनी जितपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्दै घटनासँग सम्बन्धित प्रमाण संकलन, घटनाको प्रकृति र अन्य सम्भावित संलग्नताबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

बालिका हराएको केही दिनपछि शव फेला परेको र घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको घटनाले स्थानीय क्षेत्रमा त्रास र चिन्ता बढाएको छ। प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको तथा अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...