पर्सा पोस्ट, भदौ ०२ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकामा लामो समयदेखि शिक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका आनन्द लामिछानेले भ्रष्टाचारसम्बन्धी आरोप र आन्तरिक छानबिनबाट जोगिन राजीनामाको विषयलाई लिएर भ्रम सिर्जना गरेको आरोप कार्यवाहक मेयर इम्तियाज आलमको सचिवालयले लगाएको छ।
विभिन्न सञ्चारमाध्यममा आफूले कार्यवाहक मेयर आलमले भनेअनुसार काम गर्न नसकेपछि राजीनामा दिएको लामिछानेको भनाइ सार्वजनिक भएपछि कार्यवाहक मेयरको सचिवालयले उनको दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सचिवालयका अनुसार कार्यवाहक मेयर आलमले जिम्मेवारी सम्हालेपछि विभिन्न विद्यालय, शिक्षक तथा सेवाग्राहीबाट लामिछानेविरुद्ध लिखित उजुरीहरू परेका थिए। उजुरीमा विभिन्न काम गरिदिएबापत रकम माग गरेको तथा रकम नदिएपछि सेवाग्राहीका काम लामो समयसम्म अलपत्र पार्ने गरेको आरोप लगाइएको सचिवालयको दाबी छ।
उजुरी परेपछि कार्यवाहक मेयर आलम र प्रमुख प्रशासकीय अधिकृतले लामिछानेलाई मौखिक रूपमा स्पष्टीकरणसमेत सोधेको बताइएको छ। तर, लामिछानेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरपालिकाले साउन १४ गते चलानी नम्बर ५७९ को पत्रमार्फत उनलाई शिक्षा महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएको सचिवालयले जनाएको छ।
महानगरपालिकाले शिक्षा महाशाखा प्रमुखको जिम्मेवारी तत्कालका लागि सोही कार्यालयमा कार्यरत सृजना बुढाथोकीलाई दिएको थियो। बुढाथोकी हाल बिदामा रहेको सचिवालयले जनाएको छ।
कार्यवाहक मेयरको सचिवालयले लामिछानेले राजीनामा दिएको भन्ने विषयमा समेत प्रश्न उठाएको छ। सचिवालयका प्रेस सल्लाहकार सदाब हुसैनले यदि लामिछानेले वास्तवमै राजीनामा दिएको भए सम्बन्धित राजीनामा पत्र सार्वजनिक गर्नुपर्ने बताएका छन्।
“यदि आनन्द लामिछानेले साँच्चै राजीनामा दिएका हुन् भने त्यो राजीनामा पत्र कहाँ छ? उनले त्यसलाई सार्वजनिक गर्नुपर्छ,” हुसैनले भने।
उनले समाचार सम्प्रेषण गर्नुअघि सम्बन्धित पक्षसँग तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। हुसैनका अनुसार कार्यवाहक मेयर आलमले महानगरपालिकाको शिक्षा क्षेत्रमा देखिएका बेथिति र अनियमितता अन्त्य गर्ने उद्देश्यले आन्तरिक छानबिनलाई तीव्रता दिएका छन्।
“यदि लामिछाने निर्दोष छन् भने छानबिनमा सहयोग गर्नुपर्छ, झूटा कथा बनाएर मिडियाबाजी गर्ने होइन,” हुसैनले भने, “छानबिनबाट दोषी देखिए कानुनी कारबाहीका लागि तयार हुनुपर्छ।”
सचिवालयले लामिछानेले आफ्नो जिम्मेवारीबाट हटाइएको विषयलाई राजीनामासँग जोडेर सार्वजनिक धारणा बनाउने प्रयास गरेको आरोपसमेत लगाएको छ। साथै, महानगरपालिकाभित्र शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी तथा अनियमितताका विषयमा आवश्यक छानबिन प्रक्रिया अघि बढिरहेको जनाएको छ।
यता, लामिछानेमाथि लगाइएका आरोपका सम्बन्धमा उनको आधिकारिक प्रतिक्रिया भने यस समाचार तयार पार्दासम्म सार्वजनिक भएको छैन। आरोप पुष्टि वा खण्डन हुने विषय सम्बन्धित निकायको छानबिन र प्रमाणबाट टुंगो लाग्ने देखिन्छ।