पर्सा पोस्ट , साउन ३० गते , बिरगंज । वीरगन्ज–१३ श्रीपुरस्थित गौतम सेकेन्ड्री स्कूल तथा गौतम समाज कल्याण संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरका लागि एक दिनको सम्पूर्ण भोजन खर्चबापत ३२ हजार रुपैयाँ सहयोग गरेको छ।

गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त रकमको चेक अध्यक्ष क्षेत्रीले वीरगन्ज समाजसेवाका महासचिव प्रकाश बाहेतीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्तालगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गौतम सेकेन्ड्री स्कूलका विद्यार्थी, शिक्षक तथा एनसीसीका विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गौतम समाज कल्याण संस्थाका सौराज प्रधानले सामाजिक सेवाको भावनाबाट प्रेरित भएर संस्था तथा विद्यालयले विभिन्न सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए।
गौतम सेकेन्ड्री स्कूल स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवाका कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। उनका अनुसार अब हरेक महिना आवश्यकतामा रहेका व्यक्तिहरूलाई भोजन गराउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

“विद्यालयको ५०औँ वर्ष पुगेको अवसरमा अब हरेक महिना खाना खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौँ। त्यसैको सुरुवात आज वीरगन्ज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरबाट गरेका हौँ,” प्रधानले भने।
उनले समाजमा रहेका असहाय, अनाथ तथा विशेष आवश्यकता भएका बालबालिकालगायत विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूको जीवन सहज बनाउन सामाजिक संस्थाहरूको सहयोग महत्वपूर्ण हुने बताए। आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा सहयोगात्मक कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने संस्थाको योजना रहेको उनको भनाइ छ।
वीरगन्ज समाजसेवाद्वारा नारायणी अस्पतालमा सञ्चालन हुँदै आएको निःशुल्क भोजन शिविरबाट दैनिक रूपमा बिरामीका कुरुवा, उपचारका लागि अस्पताल आएका सेवाग्राही तथा आर्थिक रूपमा कमजोर र आवश्यकतामा रहेका व्यक्तिहरू लाभान्वित हुँदै आएका छन्। गौतम समाज कल्याण संस्थाले सहयोग गरेको दिनको भोजन सेवाबाट मात्रै करिब ४ सयदेखि ५ सय जनाले सेवा लिएको जनाइएको छ।
सामाजिक सेवामार्फत समुदायसँग जोडिँदै आएको गौतम सेकेन्ड्री स्कूल तथा गौतम समाज कल्याण संस्थाले विद्यालयको ५०औँ वर्षलाई सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमसँग जोड्ने जनाएको छ। संस्थाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, मानवीय सेवा तथा विपन्न समुदायको सहयोगमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
यस सहयोगले अस्पतालमा उपचारका क्रममा रहेका बिरामीका कुरुवा तथा आर्थिक रूपमा विपन्न सेवाग्राहीका लागि सञ्चालन हुँदै आएको निःशुल्क भोजन सेवामा थप टेवा पुग्ने विश्वास गरिएको छ।