पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज।
सामुदायिक प्रहरी सेवा केन्द्र, मुर्ली–श्रीपुरको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्सामा हालै सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको स्वागत तथा परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै शान्त, सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा केन्द्रको आफ्नै परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एसपी पवन भट्टराईलाई खादा, फूलमाला तथा सम्मानपत्रसहित औपचारिक स्वागत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका वरिष्ठ सल्लाहकार डा. पुरुषोत्तम दुबेले समाजमा सत्य, सेवा र सुरक्षाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी र समुदायबीचको विश्वास तथा सहकार्य अझ प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “सत्य, सेवा र सुरक्षाको परिधिमा हामी सबै छौँ। यदि यो परिधि तोडियो भने प्रकृतिको नाश हुनेछ।”
डा. दुबेले विगत दुई दशकदेखि सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत समाजसेवा र नागरिक सुरक्षामा निरन्तर योगदान दिँदै आएको स्मरण गराउँदै केन्द्रले खेलेको भूमिकाअनुसार आवश्यक सहयोग, समन्वय र संस्थागत सुदृढीकरणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा मनीष सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै नवागन्तुक एसपी पवन भट्टराई, सेवा केन्द्रका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार विशेश्वर प्रसाद साह तथा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।
त्यसैगरी सह–कोषाध्यक्ष राधा शर्मा, जियालाल गुप्ता, जगत राई, डा. श्यामबाबु पटेल तथा प्रहरी निरीक्षक नवीन थापा मगरले आ–आफ्नो धारणा राख्दै प्रहरी र नागरिकबीचको आपसी विश्वास, समन्वय र सहकार्यबाट मात्रै शान्त, सुरक्षित, सभ्य तथा अपराधमुक्त समाज निर्माण सम्भव हुने बताउनुभयो।
नवागन्तुक एसपी पवन भट्टराईले सामुदायिक प्रहरी अवधारणालाई व्यवहारमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अपराध नियन्त्रण, सामाजिक विकृति न्यूनीकरण, युवालाई सकारात्मक गतिविधिमा जोड्ने अभियान तथा नागरिकको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो। साथै स्थानीय समुदाय, सामाजिक संघसंस्था र प्रहरीबीचको सहकार्यलाई थप मजबुत बनाउन आफू सदैव सकारात्मक रहने विश्वास दिलाउनुभयो।
कार्यक्रमको सञ्चालन विपिन उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा सेवा केन्द्रका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार विशेश्वर प्रसाद साह, संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ विश्वासिलो, उत्तरदायी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा सामुदायिक सुरक्षाका विविध कार्यक्रमहरूलाई संयुक्त रूपमा अघि बढाउने प्रतिबद्धता सहित समापन भएको आयोजकले जनाएको छ।