पर्यटन प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यको प्रतिबद्धता : होटल तथा पर्यटन व्यवसायीले मन्त्री पटेललाई बुझाए ध्यानाकर्षण पत्र

Date:

पर्सा पोस्ट ,  साउन २७ गते , वीरगञ्ज ।
मधेस प्रदेशमा पर्यटन प्रवर्द्धन, निजी लगानीको सुरक्षा, व्यवसायमैत्री वातावरण निर्माण तथा अनुगमन प्रणालीलाई सुधारात्मक र पारदर्शी बनाउनुपर्ने मागसहित होटल तथा पर्यटन व्यवसायीहरूले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री माननीय कनिष पटेलको ध्यानाकर्षण गराएका छन्।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ (FONHATE) मधेस प्रदेशको संयोजन, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) मधेस प्रदेश तथा होटल संघ नेपाल (HAN) मधेस प्रदेशको समन्वयमा महोत्तरीको लालगढस्थित गौतम होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेशभरका होटल तथा पर्यटन व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

FONHATE मधेस प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायीहरूले पछिल्लो समय गृह तथा सञ्चार मन्त्रालय तथा मातहतका निकायबाट हुने अनुगमनका क्रममा अपनाइँदै आएको **’छापामार शैली’**प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले अनुगमनलाई दण्डात्मकभन्दा सुधारात्मक, समन्वयात्मक र व्यवसायमैत्री बनाउनुपर्ने, पूर्वसूचनासहित अनुगमन गर्नुपर्ने तथा जरिवाना सम्बन्धी व्यवस्था स्पष्ट र व्यावहारिक हुनुपर्ने माग राखेका थिए।

कार्यक्रमका क्रममा FONHATE मधेस प्रदेशका संस्थापक महासचिव तथा NATTA मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले समग्र निजी क्षेत्रको तर्फबाट होटल तथा पर्यटन व्यवसायीहरूको साझा माग, सुझाव तथा अपेक्षा समेटिएको ध्यानाकर्षण पत्र मन्त्री कनिष पटेललाई हस्तान्तरण गरेका थिए।

अन्तरक्रियामा बारा निजगढका पर्यटन सल्लाहकार युवराज लामा, जनकपुरधामका विजय झुनझुनवालालगायत विभिन्न जिल्लाका होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले मधेस प्रदेशमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनको ठूलो सम्भावना रहे पनि पर्यटन पूर्वाधार, लगानीमैत्री नीति, व्यवसाय सञ्चालनको सहजता र प्रभावकारी प्रवर्द्धनको अभावले अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको धारणा राखेका थिए।

व्यवसायीहरूले जनकपुर, सिम्रौनगढ, गढीमाई, पर्साको धार्मिक तथा ऐतिहासिक क्षेत्र, सीमावर्ती पर्यटन, स्थानीय कला–संस्कृति, मौलिक खानपान, पर्व–उत्सव तथा परम्परालाई पर्यटनसँग जोडेर प्रदेशको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच दीर्घकालीन सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रमा लगानी सुरक्षित गर्ने र व्यवसायीलाई अनावश्यक दुःख नहुने गरी पूर्वसूचनासहितको पारदर्शी अनुगमन प्रणाली लागू गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले मधेस प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न डिजिटल प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास, स्थानीय पहिचानको संरक्षण, पर्यटनमार्फत रोजगारी सिर्जना तथा निजी लगानी आकर्षित गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिए।
मन्त्री पटेलले आगामी दिनमा पर्यटन मार्ट, एक्स्पो, स्ट्रीट फेस्टिभल, सस्तो बजार, क्रस–बोर्डर B2B कार्यक्रम, अन्तरप्रदेशीय पर्यटन सहकार्य तथा लगानी सम्मेलन जस्ता गतिविधि सञ्चालन गरी मधेस प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने योजना रहेको उल्लेख गरे।

उनले सरकार र निजी क्षेत्रबीच नियमित संवाद, विश्वास र सहकार्य कायम रहन सके मात्र मधेस प्रदेशलाई आकर्षक, सुरक्षित र दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमबाट पर्यटन क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे सरकार र निजी क्षेत्रबीच खुला छलफल भएको भन्दै सहभागीहरूले यसले पर्यटन उद्योगको विकास, लगानी संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा मधेस प्रदेशको समग्र आर्थिक गतिविधिलाई थप सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...