पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज।
सामाजिक सेवामा सक्रिय लायन्स क्लब इन्टरनेशनल जोन ३७ ले आइतबार वीरगञ्ज कपडा बैंकलाई चार बोरा र आठ झोला कपडा सहयोग गरेको छ। आर्थिक रूपमा विपन्न, असहाय, आगलागी तथा बाढीपीडित परिवारलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरिएको हो।

लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी उपाध्यक्ष कुसुम बरनवालको नेतृत्वमा जोन चेयरपर्सन पिन्की साह, लायन्स क्लब अफ वीरगञ्ज प्रभुकी अध्यक्ष सरिता सिंह, डिस्ट्रिक्ट क्याबिनेट अफिसर दिगम्बर गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बकी डिस्ट्रिक्ट क्याबिनेट अफिसर सञ्चिता प्याकुरेल, पिंक सिटीकी सचिव ब्युटी जैसवाल, कोषाध्यक्ष रुपशिला जैसवाल तथा सदस्यहरू बिन्दिया प्रधान र प्रतिमा झा लगायतको टोलीले कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा वीरगञ्ज कपडा बैंकका सल्लाहकार श्रवणबहादुर रायमाझी, कार्यालय सहयोगी मिथलेश श्रीवास्तव लगायतको पनि उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै कुसुम बरनवालले लायन्स क्लबले “We Serve” (हामी सेवा गर्छौं) भन्ने मूल भावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, विपद् राहत तथा मानवीय सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। कपडा बैंकमार्फत प्रदान गरिएको सहयोगले वास्तविक आवश्यकता भएका व्यक्तिसम्म सहज रूपमा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
जोन चेयरपर्सन पिन्की साहले वीरगञ्ज कपडा बैंकले विगत केही वर्षदेखि गरिब, असहाय, आगलागी तथा बाढीपीडित परिवारको घरदैलोमै पुगेर निःस्वार्थ सेवा गर्दै आएको उल्लेख गर्दै उक्त कार्य प्रशंसनीय रहेको बताइन्। बैंकको सेवामूलक अभियानमा लायन्स क्लब सधैं सहकार्य गर्न तयार रहेको र आगामी दिनमा समेत आवश्यक सहयोग जारी रहने उनले स्पष्ट पारिन्।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले बैंकको मूल मन्त्र “तपाईंसँग धेरै छ भने हामीलाई दिएर जानुस्, आवश्यकता छ भने हामीबाट निःशुल्क लिएर जानुस्” रहेको उल्लेख गर्दै विगत ६ वर्षदेखि वीरगञ्ज–८ स्थित कार्यालयमार्फत पर्सा र बाराका विभिन्न स्थानमा निःशुल्क कपडा वितरण गर्दै आएको जानकारी दिए। नयाँ नभए पनि सफा, प्रयोगयोग्य र जाडोमा न्यानो कपडा सबैले लगाउन पाऊन् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन भइरहेको उनले बताए।
अध्यक्ष सिंहले लायन्स क्लबले समाजका विपन्न, असहाय तथा संकटमा परेका नागरिकका लागि निरन्तर सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै कपडा बैंकमार्फत पुनः सहयोग गरेकोमा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरे।
वीरगञ्ज कपडा बैंकले स्थानीय संघसंस्था, सामाजिक अभियन्ता तथा सर्वसाधारणबाट संकलित कपडा आवश्यकतामा रहेका परिवारसम्म निःशुल्क पुर्याउँदै आएको छ। पछिल्लो समय विभिन्न सामाजिक संस्थाहरूले बैंकसँग सहकार्य गर्दै सहयोग अभियानलाई थप प्रभावकारी बनाइरहेका छन्। सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै लायन्स क्लब इन्टरनेशनल जोन ३७ ले गरेको यो सहयोगले विपन्न समुदायप्रति सहयोगको भावना अझ सुदृढ हुने अपेक्षा गरिएको छ।