सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

Date:

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)।
पर्सा जिल्लास्थित सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा शनिबार समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षता तथा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले वन संरक्षण र दिगो व्यवस्थापनका लागि प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले “एउटा रुख काट्दा कम्तीमा दश वटा रुख रोप्ने संस्कारको विकास गर्नुपर्ने” उल्लेख गर्दै साझेदारी वनका उपभोक्ता तथा स्थानीय समुदायलाई वृक्षरोपण अभियानमा अग्रसर हुन आग्रह गरे।

उनले २०३६ सालदेखि तीव्र रूपमा भइरहेको वन विनाश रोक्न साझेदारी वन उपभोक्ता समूहको अवधारणा सुरु गरिएको स्मरण गराउँदै यसको मूल उद्देश्यलाई आत्मसात् गर्दै वन संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए। वनभित्र काठ सडेर खेर जाने तर वास्तविक उपभोक्ताले सहज रूपमा उपयोग गर्न नपाउने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विद्यमान कानुनी तथा प्रक्रियागत जटिलतालाई सरल बनाउन सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले केही व्यक्तिको स्वार्थका कारण साझेदारी वनको प्रभावकारी व्यवस्थापन हुन नसकेको आरोप लगाए। वनलाई व्यापारिक दृष्टिकोणबाट होइन, सामाजिक सेवा र वातावरण संरक्षणको भावनाले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्री पटेलले वन संरक्षण सरकारको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै वन जोगाउन स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए। उनले मधेश प्रदेशका किसानले आवश्यक रासायनिक मल समयमै नपाउँदा खेतीपातीमा समस्या भोगिरहेको उल्लेख गर्दै संघीय सरकारबाट पर्याप्त मल उपलब्ध हुन नसकेको गुनासो गरे। प्रदेश सरकारले प्राप्त हुने कोटा अनुसार स्थानीय तहलाई समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाइरहेको पनि उनले जानकारी दिए।

साधारणसभामा वन संरक्षण, दिगो व्यवस्थापन, उपभोक्ताको अधिकार, पारदर्शी प्रशासन तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले साझेदारी वनलाई थप प्रभावकारी, पारदर्शी र समुदायमैत्री बनाउँदै जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय नागरिकको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनार, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, सदस्यहरू श्रवण साह, भैयाराम पटेल, जगतनारायण प्रसाद यादव, सुरेश कुमार, राजीव साह सोनार, रामअयोध्या राउत अहिर, राधिका भक्त लामा, रिता देवी कलवारिन तथा नेपाल सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीलगायत वन उपभोक्ता, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...